शशिधर पराजुली
विराटनगर, चैत ८ गते । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरवाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आइतबारका लागि तोकिएको छ ।
सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण बुझ्ने काम र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ ।
“अदालतले मागेका सबै प्रमाणहरू सङ्कलन भइसकेका छन् र साक्षीहरूको बकपत्र पनि सकिएको छ । विपक्षीको तर्फबाट दुई पटक पेसी सरिसकेका काराण आइतबारको पेसी अन्तिम हुनुपर्ने हो” अधिवक्ता पाण्डेले भन्नुभयो ।
२०८१ साल माघ १० गते फोक्सो एवम् श्वासप्रश्वासको उपचारका लागि नोबेल अस्पताल भर्ना भएकी विमला थापा पोखरेललाई ढाडको दुखाइ कम गर्न भन्दै विशेषज्ञ डा. रामहरि घिमिरेले ‘मोर्फिन’ नामक औषधी सिफारिस गर्नुभएको थियो । शक्तिशाली पेनकिलर मोर्फिन सामान्यतया श्वासप्रश्वासका बिरामीलाई घातक हुन सक्ने भए पनि घिमिरेले बिरामीलाई उक्त औषधी सिफारिस गरेका कारण विमलाको मृत्यु भएको भन्दै उहाँका पति महेश्वर पोखरेलले २०८१ चैत २० गते अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।
पीडित पक्षले नेपालको संविधानको धारा ४२(२) र उपभोक्ता संरक्षण ऐनको दफा ३, ५० र ५१ बमोजिम पाँच करोड रुपियाँ क्षतिपूर्तिको माग गरेको छ । मोरङ जिल्लामै उपभोक्ता अधिकारअन्तर्गत चिकित्सा सेवामा लापरवाही भएको भन्दै दर्ता भएको यो पहिलो र ठुलो क्षतिपूर्ति दाबी गरिएको मुद्दा हो ।
यस मुद्दामा अधिवक्ता सुविन पाण्डेसँगै उपभोक्ता अधिकारवादी तथा वरिष्ठ अधिवक्ताद्वय ज्योति बानियाँ र मानबहादुर रुम्दाली लगायतले बहस गरिरहनुभएको छ ।