• २ असार २०८१, आइतबार

बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

blog

हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल बाढीपहिरोले प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ९ गते । बाजुराको हिमाली गाउँपालिका –४ बोर्ताका ११३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । असोज २३ देखि २६ गते सम्म लगातार परेको अविरल वर्षाताका कारण हिमाली गाउँपालिकाका झण्डै ११३ परिवारहरू बाढीपहिरोबाट प्रभावित बनेका थिए ।

सामाजिक अभियन्ता रिता शाहीले गाउँपालिकाको समन्वयमा बाढीपहिरोबाट प्रभावित बनेका बोर्ताका ११३ परिवारलाई चामल, नुन, तेल र भाँडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घरबारविहीन भएका बोर्ताका स्थानीय अहिले गाउँ नजिकको जङ्गलमा त्रिपाल मुनीको बास गर्दैआएका छन् । उनीहरूलाई साँझ बिहान के खाने चिन्ता परेको समयमा थोरै भए पनि खाद्यान्न सामग्री वितरण गरेका छौँ ।’

हिमाली गाउँपालिका –४ बोर्ताका कर्णवीर भण्डारीले लगातार परेको अविरल वर्षाका कारण बाढीपहिरोले घरबारविहीन भएको बताउनुभयो । लगाएको खेती समेत सबै पहिरोले पुरिदिएपछि अहिले काँ जाँउ के खाऊँ भएको बेला राहत मिलेपछि केही दिनका लागि छाक टार्न सहज भएको बताउनुभयो ।

अभियन्ता रिता शाहीका अनुसार अनिता अन्चाङ्बो लिम्बुको पहलमा अङ्ग शेर्पा कुमारी लिङ्बाग, नरेश नाल्बो, कविता बनेम, गीता चोङ्बाङ् आरती रन्तिाजा लगायतको सहयोगमा सङ्कलन भएको रकमले खाद्यान्न सामग्री खरिद गरी वितरण गरिएको बताउनुभयो ।

हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले हिमाली गाउँपालिका बाढीपहिरोबाट प्रभावित परिवारलाई हिमाली गाउँपालिकाको पहलमा तथा समन्वयमा विभिन्न ठाउँबाट राहत वितरण गर्दैआएको बताउनुभयो । योभन्दा पहिला हिमाली गाउँपालिकाले बोर्ताका ११३ परिवारलाई नुन, चामल, दाल, कपडा, भाँडा र त्रिपाल वितरण गरेको उहाँको भनाइ छ । 

हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बाढीपहिरोले प्रभावित बोर्ताका ११३ परिवार अहिले त्रिपालको बासमा रहेको बताउनुभयो । उनीहरू बसेकै ठाउँमा अहिले खानेपानी शौचालयको समेत अभाव भएको उहाँको भनाइ छ ।