• १२ असोज २०८१, शनिबार

देशको विकास र समृद्धि नै मुख्य एजेण्डा : नेत्री घर्ती

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ९ गते । नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको उहाँको भनाइ छ ।  अझै पनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको चर्चा गर्दै घर्तीले देशलाई क्रमशः समृद्ध बनाउँदै लैजान आवश्यक भएको बताउनुभयो । विगतमा गरिएका कामहरुको पनि जिम्मेवारी लिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी आज तपाईहरुको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु केही छैन ।’ देशलाई समृद्ध बनाउँछौं भनेर हामीले भन्दैआएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सबै कामको हामी जिम्मेवारी लिन्छौँ ।‘ 

‘सांसदको सबैभन्दा ठूलो काम देशको कानुन बनाउने काम हो । धेरै कानुन निर्माण गर्न बाँकी छन् । मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकार ग्यारेन्टी हुने गरेर आफूले कानुन लेख्ने कुरामा सधै अग्रपङ्क्तिमाे रहनेछु’ उहाँले भन्नुभयो ।

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी नेत्री घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारको सुनिश्चित हुनेगरी कानुन बनाउने प्रतिबद्धता जनाउनुभयो ।