• २ असार २०८१, आइतबार

समस्यामा पहिरो पीडित, चाडपर्वमा निराशा

blog

अस्थाई टहराभित्र बस्नु भएका आलिताल –७ का पहिरो पीडित परिवार । तस्बिर : पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, कात्तिक ८ गते । आलिताल गाउँपालिका –७ बलौचा, ओबा र खिन्नेभाडी गाउँका ७५ परिवारले दशैँ, तिहार नमनाएको तीन वर्ष भयो । २०७७ कात्तिक महिनामा आएको वर्षाका कारण पहिरो जाँदा विस्थापित भएका ७५ परिवारको अझै अस्थायी टहरामा बास छ । चाडपर्व आउँदा आफूहरूलाई निराश गर्नेगरेको उहाँहरूको भनाइ छ ।

७८ वर्षीया दुर्गादेवी साउँदले चाडपर्व नमनाएको तीन वर्ष भएको बताउनुभयो । उहाँ तीन वर्ष यता पहिरोले जीर्ण बनेको घरमा बस्दै आउनुभएको छ । यी दुई गाउँमा करिब ७५ परिवार बस्दै आउनुभएको छ । 

आकाशमा बादल मडारिएसँगै सुरक्षित स्थानमा बस्न बालबच्चासहित टहरामा भाग्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । वर्षातकै समयमा ठूला चाडपर्व आउँछन, उहाँले भन्नुभयो, “यस्तो दयनीय परिस्थितिमा कसरी चाड पर्व मनाउनु ?”

आलिताल गाउँपालिका –७ बलौचा, ओबा, खिन्नेभाडिका ४० परिवार दुई महिनादेखि टहरामा बस्दै आउनुभएको छ । बलौचा, ओभा, खिन्नेभाडी र खैरेनीका पहिरोपीडित अस्थायी टहरामा नै राहतमा पाएको चामलबाटै तिहार मनाउँदैआएको बताउनुभयो ।  

“आकाशको भर छैन । कतिबेला पानी पर्छ र जमिन भासिन्छ । अहिले पनि पहिरो खसिरहेको छ” बलौचाका पहिरोपीडित सङ्घर्ष समितिका अध्यक्ष दीपक बोहराले भन्नुभयो ।  

स्थानीय सरकारको समन्वयमा बहुउद्देश्यीय विकास समाज डडेल्धुरा र कार्क एन एक्ट र स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा आलितालका पहिरोपीडितका लागि व्यवस्थित अस्थायी सुरक्षित टहरा निर्माण भएपछि आफूहरू जोखिमबाट मुक्त भएको अध्यक्ष बोहराले बताउनुभयो ।

पहिरोले उठीबास मात्रै गरेन । अहिले पनि उत्तिकै डर छ । गाउँमाथिबाट पहिरो खस्नेक्रम रोकिएको छैन उहाँले भन्नुभयो । डर त्रासको जीवन बाँचिरहेको तीन वर्ष भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । सुरक्षित स्थानमा बस्ती सार्नका लागि काठमाडौंसम्म धाए पनि सुनुवाइ नभएको उहाँले दुखेसो पोख्नुभयो । 

पहिरोले यहाँका अधिकांश घरहरू जीर्ण बनेका छन् । जग्गा जमिन बाँझो रहेको पीडित तुलाराम बोहराले बताउनुभयो । गत साता भएको वर्षाले पनि गाउँमा पहिरो गएको उहाँले बताउनुभयो ।