• ८ चैत २०८२, आइतबार

घटे एसइई परीक्षा दिने विद्यार्थी

blog

बैतडी समाचारदाता 

बैतडी, चैत ८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नियमित विद्यार्थी बर्सेनि घट्दै जान थालेका छन् । तथ्याङ्क अनुसार चार वर्षअघि नियमित परीक्षा दिने पाँच हजारभन्दा बढी विद्यार्थी हुन्थे भने यो वर्ष नियमित परीक्षा दिने विद्यार्थी सङ्ख्या घटेर तीन हजार ९२१ रहेको छ । बसाइँसराइ र बेरोजगारी जस्ता कारणले नियमित परीक्षा दिने विद्यार्थी घट्दै गएको पाइएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार २०७८ मा नियमित परीक्षा दिने विद्यार्थी पाँच हजार ३६१ थिए । त्यसै गरी २०७९ मा पाँच हजार १८४, २०८० मा घटेर चार हजार ८७७ जना सहभागी थिए । त्यसै गरी २०८१ मा नियमित परीक्षा दिने विद्यार्थी चार हजार ३०७ जना रहेकोमा यो वर्ष २०८२ को नियमिततर्फ तीन हजार ९२१ परीक्षार्थी रहेका छन् । गत वर्षको परीक्षामा अनुत्तीर्ण भएका ६३० परीक्षार्थीले ग्रेड वृद्धिसहित चार हजार ५५१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो । उहाँले यही चैत १९ देखि २९ सम्म सञ्चालन हुने परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र कायम गरिएको बताउनुभयो । 

आधारभूत तहमै विद्यार्थी छैन्

आधारभूत तहमै विद्यार्थी सङ्ख्या नहुँदा जिल्लाका १० वटा स्थानीय तहका ११४ आधारभूत विद्यालय बन्द हुने भएका छन् । तथ्याङ्क अनुसार गत वर्ष २०८१ मा जिल्लाका सामुदायिक विद्यालयमा ६९ हजार ८८२ विद्यार्थी अध्ययनरत थिए । शैक्षिक सत्र २०८२ मा ६२ हजार २८ जना अध्ययनरत छन् । एकै वर्षमा सात हजार ८५४ विद्यार्थी कसरी घटे ? ती कहाँ गए ? कुनै निकायसँग पनि अधिकारिक तथ्याङ्क छैन ।  

आधारभूत तहमा विद्यार्थी नहुँदा बन्द हुने स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिकामा २२ वटा विद्यालय बन्द हुने भएका छन् । डिलासैनी गाउँपालिका १५, पाटन नगरपालिकामा १५, मेलौली नगरपालिकामा १०, सुर्नया गाउँपालिकामा ११, सिगास गाउँपालिकामा ११, पञ्चेश्वर गाउँपालिकामा नौ, शिवनाथ गाउँपालिकामा चार, पुर्चौडी नगरपालिकामा छ र दशरथ चन्द नगरपालिकामा १२ वटा आधारभूत तहका विद्यालय बन्द हुने भएका छन् । जिल्लामा कक्षा १ देखि ५ सम्म पढाइ हुने ३०२ विद्यालय, कक्षा ६ देखि ८ सम्मका ८९ विद्यालय, कक्षा ९ देखि १० सम्म पढाइ हुने ७५ विद्यालय र कक्षा ११ देखि १२ सम्म पढाइ हुने ६७ विद्यालय गरेर ५३४ सामुदायिक विद्यालय रहेका छन् ।  

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार आधारभूत तहमा मात्रै एक वर्ष (२०८२) मा दुई हजार ३६४ विद्यार्थी घटेका छन् । गत वर्ष आधारभूत तह (कक्षा १–५) मा ३७ हजार ५२० जना अध्ययनरत थिए । शैक्षिक सत्र २०८२ मा ३५ हजार १५६ विद्यार्थी अध्ययनरत छन् । गत वर्ष कक्षा ६ देखि ८ सम्म १६ हजार ९४८ विद्यार्थी अध्ययनरत थिए । यो वर्ष एक हजार २७९ विद्यार्थी घटेर १५ हजार ६७९ विद्यार्थी अध्ययनरत छन् । तथ्याङ्क अनुसार कक्षा ९ देखि १२ सम्म एकै वर्षमा चार हजार २२१ विद्यार्थी घटेका छन् । गत वर्ष कक्षा ९ देखि १२ सम्म १५ हजार ४१४ विद्यार्थी अध्ययनरत रहेकामा यो वर्ष ११ हजार १९३ विद्यार्थी अध्ययनरत छन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले सबैभन्दा बढी आधारभूत तह र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी वार्षिक हजारौँका दरले घट्ने क्रम बढेको बताउनुभयो ।