चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत ८ गते । लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहेका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । दोस्रो जनआन्दोलनका घाइतेसमेत रहेका जोशी जनमोर्चाबाट २०७० सालमा संविधान सभाको प्रत्यक्ष उम्मेदवार, २०७४ मा सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक उम्मेदवार, २०७९ सालमा घोडाघोडी नगरपालिका–१० को वडाध्यक्षको उम्मेदवार भएर पराजय भोग्नुभएको थियो ।
विगतमा राम्रो मत पाउन नसकेका जोशीले यस पटक प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गर्नुभएको छ । उहाँले २० हजार ३५९ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका अनुभवी नेता वीरमान चौधरीले ११ हजार ९८३ मत मात्र पाउनुभएको थियो ।
जोशी जनमोर्चामा दुई दशक रहेर गत साउनमा रास्वपामा प्रवेश गरेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । उहाँ आफू धेरै वर्ष जोडिएको पार्टीले राम्रो जनमत नपाउने बुझेपछि जनमोर्चाको कैलाली जिल्ला अध्यक्षबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेको बताउनुभयो ।
समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उहाँ लामो समय शिक्षण पेसामा रहनुभएको थियो, त्यसबेला पनि उहाँले विभिन्न क्षेत्रबाट समाजसेवा गर्नुभएको थियो । विगतमा आबद्ध दलबाट पनि नबिराउने नडराउने राजनीतिक संस्कार सिकेको जनाउँदै जोशीले इमानदारिताबाट नडगमगाई जनता र देशका लागि काम गर्ने बताउनुभयो । गोरखापत्र कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य जोशीले आफ्नो चुनावी प्रतिबद्धता अनुसार नै कैलालीको पुरानो सदरमुकाम भजनी भारतीय सडक सञ्जालसँग जोडी नेपाल–भारतको व्यापारलाई सहज बनाउन पहल गर्ने बताउनुभयो ।
भजनी नाका खुला भएमा नेपाल–भारतबिचको व्यापारमा सहज हुनुका साथै त्यस क्षेत्रको व्यापार व्यवसाय फस्टाउने अपेक्षा जनताको रहेको उल्लेख गर्दै जोशीले सो कार्यका लागि आफूले पहल लिने पनि बताउनुभयो । कैलाली क्षेत्र नं. ३ कृषि, पर्यटनमा सम्भाव्यता बोकेको क्षेत्र भए पनि नदी कटान र डुबान यस क्षेत्रको मुख्य समस्या रहेको छ । जोशीले भन्नुभयो, “यस क्षेत्रका नदी कटान, बाढी नियन्त्रण, सडक विस्तार र स्तरोन्नति, कृषि, पर्यटनलगायतका क्षेत्रमा केन्द्रित भएर काम गर्ने मेरो योजना छ ।”
जोशी भन्नुहुन्छ, “यहाँ कृषिको उर्वर भूमि भएर पनि समयमा किसानले मल, बिउ, सिँचाइ पाउन सकेका छैनन् । किसानको उत्पादनले उचित बजार पाउन सकेको छैन, नदी कटानले धेरैको खेतीयोग्य जमिन कटान गरेको छ, डुबानले घरबास नै उठिबास लगाएको छ, यी सबै समस्यामा समाधान गर्न जरुरी छ ।” यस क्षेत्रमा सडकबत्ती, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्या रहेको उल्लेख गर्दै नेता जोशीले सबैको सहज पहुँच हुने गरेर आफू सक्रिय हुने पनि बताउनुभयो । जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको चुनावबाट जनताले विश्वास गर्दै मत दिएर विजयी गराएको बताउँदै उहाँले इमानदार भएर जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।