• १८ पुस २०८१, बिहिबार

एमसीसीमाथि नेपालको जित

blog

काठमाडौं, कात्तिक ८ गते । नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) माथि नेपाली महिला टोलीले फराकिलो जित निकालेको छ । 

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई एक सय सात रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो दिएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो ।

दुई सय १४ रनको विजय लक्ष्य पछ्याएको एमसीसी ३२ ओभरमा सवै विकेट गुमाएर एक सय ६ रनमा समेटिएको थियो ।नेपालका लागि ओपनरद्वय काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ दुवैले अर्धशतकीय रन बनाउनुभयो । प्लेयर अफ दि म्याच घोषित काजोलले ५३ रन बनाउनुभयो । 

कन्चनले ५५ रन जोड्नुभयो । यस्तै कविता कुँवरले २७, सम्झना खड्काले २५ र कप्तान रुविना क्षेत्रीले १४ रन बनाउनुभयो । बलिङमा एमसीसीकी सबा नसिमले दुई तथा रेचल पोटर, एलिसा हबार्ड, इसाबेल गर्नी र सराह क्रेले एक एक विकेट लिनुभयो ।

सस्तैमा समेटिएको एमसीसीका लागि सबा नसिमले २१, जेनी कितजिंगरले १७, जोलेन फोस्टरले १५ र एलिसा हबार्डले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । एमसीसीटोलीले मङ्गलबार (आज) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालको आईसीसी यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्रिकेट सङ्घ क्यानले यसअघि सार्वजनिक गरेको तालिका अनुसार एमसीसी टोलीले पोखरा रङ्गशालामा कार्तिक ११ र १२ गते क्यान ११ सँग टी-२० र ४० ओभरको खेल खेल्नेछ । कार्तिक १३ गते मिक्स-११ सँग टी-२० तथा अन्तिम खेल कात्तिक १५ गते क्यान-११ सँग ४० ओभरको खेल खेल्नेछ ।