• १३ साउन २०८१, आइतबार

अछाम–१ मा वर्तमान र पूर्वमन्त्री चुनावी मैदानमा

blog

शिवराज ढुंगाना

अछाम, कात्तिक ७ गते । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त हुन गइरहेको हो । 

गठबन्धन–एमालेमा कडा प्रतिस्पर्धा हुने र स्वतन्त्र निर्णय हुने त्यस क्षेत्रका स्थानीयको अनुमान   छ । एमाले र माओवादीबाट बनेको नेकपा हुँदा एकै पार्टीमा रहेका कुँवर र बोहरा अहिले फरक कित्ताबाट चुनावमा होमिनुभएको छ । 

कुँवर गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) बाट र बोहरा नेकपा (एमाले) बाट अछाम–१ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने भएकाले जिल्लामा चासोको रूपमा हेरिएको छ । एमाले नेता भीम रावल समानुपातिक बसेपछि शेरबहादुर कुँवर २०६४ को संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । 

२०७४ को निर्वाचनपछि मन्त्री कुँवर एमालेबाटै राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । २०७४ को निर्वाचनमा अछाम–१ (ख) प्रदेशबाट सुदूरपश्चिम प्रदेशसभा हुँदै आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ । बोहरा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुनुहुन्छ भने कुँवर समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हुनुहुन्छ । २०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पाँच हजार पाँच सयभन्दा बढी मतले पराजित गरेका बोहराको मत सङ्ख्या समेत चासोको विषय बनेको छ । 

एक नगरपालिकासहित चार गाउँपालिका रहेको उक्त क्षेत्रमा ७९ हजार ३६ मतदाताले एक सय तीन स्थानमा मतदान गर्नेछन् । साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकाका मतदाताले प्रतिनिधिसभामा मतदान गर्न पाउनेछन् । अछाम–१ का पाँच वटा स्थानीय तहमा नेकपा (एमाले) ले एक उपाध्यक्ष जितेको छ भने चार स्थानीय तहमा काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व रहेको छ । 

साँफेबगर क्षेत्रमा चुनावी प्रचारमा रहनुभएका मन्त्री कुँवरले शान्ति, स्थायित्व, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संधिानको रक्षा र स्थानीयस्तरमा विकास रहेको भन्दै मत मागिरहेको बताउनुभयो । मतदाता भेटघाटका क्रममा रामारोशनमा रहनुभएका बोहराले आफूले यसअघि प्रारम्भ गरेका अधुरा काम पूरा गर्ने र पर्यटन, सडक, शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा नेतृत्व गर्ने भएकाले जित सुनिश्चित रहेको बोहराको दाबी छ ।

अछाम–१ को प्रदेशसभा (क) मा गठबन्धनबाट कांग्रेस मेघराज खड्का र एमालेबाट देवबहादुर कुँवर उम्मेदवार रहनु भएको छ । यस्तै (ख) प्रदेशमा एमालेबाट कृष्णप्रसाद जैसी र गठबन्धनबाट माओवादी केन्द्रका झपट साउँद उम्मेदवार रहनु भएको छ ।

स्वतन्त्र निर्णायक

अछाम–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्णायक हुने देखिएको छ । कांग्रेसका महासमिति सदस्य युवा नेता राजन कुँवरले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि जितहारको आङ्कलन गर्न कठिन भएको स्थानीयहरूले बताउनेगरेका छन् । नेविसंघ अछामका पूर्वसभापति रहेका कुँवर युवा माझ लोकप्रिय भएकाले मतपरिणाम फेरबदल हुने देखिन्छ । 

अछाम–१ कै प्रतिनिधिसभामा हिक्मत कुँवर, महेन्द्रबहादुर बोगटीको पनि स्वतन्त्र उम्मेदवारी रहेको छ । तेजप्रसाद शर्माले हाम्रो नेपाली पार्टीबाट मनोनयन दर्ता गराउनुभएको छ ।