जलधर सब हट्दै नीलिमा भो अकास ।
हिम शिखर खुलेका दिव्य छर्दै प्रकाश ।।
धवलित नद झर्ना, वृक्षमा छन् बहार ।
अवनितल सिँगारी झुल्दछन् पुष्पहार ।।
करट कुकुर लक्ष्मी गोरु भ्राता तिहार ।
अनुपम अति सङ्लो क्या शरद्को पियार ।।
चहचह पिङ मच्ची, द्यौसुरे चल्छ भैलो ।
घरपरिसर कौसी दीपमा झल्ल दैलो ।।
अनुज र बहिनी औ अग्रजा दाजुभाइ ।
मिलन छ अति चोखो गर्न थाले सबाई ।।
घरघर नवरङ्गी पाक्न थाले मिठाई ।
मखमल सयपत्री स्रग्धराका खिपाइ ।।
अगणित मधु माया स्नेह श्रद्धा पियार ।
विहग पशु र मान्छे दङ्ग पार्ने तिहार ।।
मनभरि मन फुल्छन् शान्ति विश्वास श्वास ।
भवजलधि तरौँला पर्व हाम्रो प्रकाश ।