• २० असोज २०८१, आइतबार

गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री खाण

blog

बुटवलमा आयोजित सत्तारुढ गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी गृहमन्त्री बालकृष्ण खाणसहितका शीर्ष नेता। तस्बिर : कपिल ज्ञवाली।

बुटवल, कात्तिक ४ गते। गृहमन्त्री  बालकृष्ण खाणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहनु भएका गृहमन्त्री खाणले मुलुकको राष्ट्रिय आवश्यतालाई ध्यानमा राखेर आम मतदाताले सत्तारुढ गठबन्धनलाई निर्वाचनमा सफल बनाउनुपर्ने बताउनु भयो। शुक्रबार बुटवलमा आयोजित सत्तारुढ गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार गृहमन्त्री खाणले आगामी निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो। 

लुम्बिनी प्रदेशका जनताको चाहना, विकास, शान्ति र समृद्धि भएको उल्लेख गर्नुहुँदै उहाँले निर्वाचनमा सत्तारुढ दल विजयी भए जनताको सो चाहना पूरा हुने आश्वासनसमेत दिनुभयो। गृहमन्त्री खाणले भन्नुभयो, ‘‘मुलुकको राष्ट्रिय आवश्यतालाई ध्यानमा राखेर पाँच दलीय गठबन्धनलाई हामीले सफल बनाउनै छ। यसलाई बलियो बनाउनै छ। यो प्रतिबद्धतामा हामीहरु सबै लागेका छौं। पाँच दलीय गठबन्धनको आधारमा र दलहरुबीचको सहमति, सहकार्य र एकताले नै नेपालमा धेरै ठूला परिवर्तन हुँदै आएका छन्।’’ 

उहाँले निर्दलीय पञ्चायती व्यवस्थाको समाप्त गरेर बहुदलीय व्यवस्था पनि लोकतान्त्रिक-वाम गठबन्धनकै आधारशीलामा भएको उल्लेख गर्नुभयो। लुम्बिनीका मतदाताले स्थानीय तह निर्वाचनमा गठबन्धनको अग्रताका लागि साथ, सहयोग र मत दिएको भन्दै उहाँले धन्यवादसमेत दिनुभयो ‘‘आउने निर्वाचन पनि गठबन्धनलाई नै प्रदेश तह र संघीय सरकारका लागि  साथ, सहयोग र समर्थन गर्न आह्वान गर्न चाहन्छु। अहिले जनताले विकास, शान्ति र समृद्धि चाहेका छन्। त्यो जनताको चाहना सत्तारुढ गठबन्धनले पूरा गर्नेछ’’, उहाँले भन्नुभयो। 

यो पनि पढ्नुहाेस् : गठबन्धनभित्र शङ्का, उपशङ्का र बहानाबाजी नगरौँ : प्रधानमन्त्री देउवा