• १३ साउन २०८१, आइतबार

परिचयपत्र बनाउन मध्यरातदेखि नै लाम

blog

शिवशङ्कर मिश्र  

बारा, कात्तिक ३ गते । राष्ट्रिय परिचयपत्र बनाउन राति २/३ बजेदेखि नै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वार (गेट) अगाडि लाम लाग्नुपर्ने बाध्यता छ। 

प्रत्येक दिन करिब डेढ सय परिचयपत्र मात्र वितरण हुने गरेको छ। बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लाइनमा बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्। रातिको २ बजेदेखि नै आफूहरू राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेको बारागढी गाउँपालिका–६, गड्हल टोलका उमेशचन्द्र हजरा दुषादले बताउनुभयो। 

उहाँले भन्नुभयो, “बारा जिल्लाको सदरमुकाम कलैयाबाट १० किलोमिटर पूर्व टाढा घरबाट आउँदाआउँदै दुई सयभन्दा बढी सेवाग्रहीहरू लाइनमा बसेका हुन्छन्।” दिनहुँ आउने र फर्केर जानुपर्ने बाध्यताले रातिको दुई बजेदेखि लाइनमा बसेको र जसरी पनि परिचयपत्र बनाएर जाने निधो गरेको उहाँको भनाइ छ। 

कलैया उपमहानगरपालिका–१६, मझौलिया टोलका नजरुलाह अन्सारीको पीडा पनि उस्तै छ, घर नजिकै भए पनि आउँदाआउँदै लामो लाइन लागिसकेका हुन्छन्। पालो पर्खदापर्खदै दिन बित्छ, पालो आउँदैन र फर्केर जानुपर्छ। उहाँले रातिको ३ बजे लाइनमा बसेको बताउनुभयो। 

एकातिर बेरोजगारीले समस्या उत्पन्न गरेको छ, भने अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नभई पासपोर्ट बन्न नसक्ने बाध्यात्मक परिस्थिति रहेको करैयामाई गाउँपालिका–७, सिसवा टोलका अच्छेलाल यादवले भन्नुभयो। उहाँले भन्नुभयो, “हामीजस्ता गरिब मान्छेलाई कमाइ गरेर पेट पाल्न समस्या भएको छ, आफ्नो काम धन्दा छाडेर दिनहुँ धाउँदा धाउँदै दिक्क लागिसक्यो। विदेश जानको लागि पासपोर्ट बनाउन आएको छु तर राष्ट्रिय परिचयपत्र नभई पासपोर्ट बन्दैन।” 

जिल्ला प्रशासन कार्यालय कलैयाबाट दैनिक १५० देखि १६० जनासम्मको राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो। जिल्लाको कोल्हवी, जितपुरसिमरा, सिम्रौनगढ इलाकाबाट समेत परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको छ। यो समस्या चाँडै नै समाप्त हुने प्रजिअ. कटुवालले जानकारी दिनुभयो।