• ११ असोज २०८१, शुक्रबार

अवरुद्ध सडक एक वर्षपछि खुल्यो

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक ३ गते  । गत वर्षको कात्तिक ३ गते आएको बाढीले भत्काएको झापाको दमक–१०, सेतुवारीसँग मोरङको उर्लाबारी–९, थक्लुङ चोक जोड्ने सडक एक वर्षपछि मर्मत भई सञ्चालन भएको छ। २०७८ को कात्तिक ३ गते बेमौसमी वर्षापछि मावा खोलामा आएको बाढीले भत्काएको सडक एक वर्षपछि पुनः सञ्चालन भएको हो। 

झापाको दमकसँग मोरङको विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक मर्मत भएपछि तरकारी, माछा र फलफूलको व्यापार गर्ने व्यापारीहरूलाई २२ किलोमिटर घुम्नुपर्ने बाध्यता टरेको छ। सडक मर्मत नहुँदा खासगरी विराटनगरबाट फलफूल र माछा लिएर दमक जाने र फर्किंदा पहाडको तरकारी लिएर फर्किने व्यापारीहरू मर्कामा परेका थिए । 

 अवरुद्ध सडक दमक नगरपालिका–१० र उर्लाबारी नगरपालिका–९ को पहलमा पुनः सञ्चालनमा ल्याइएको उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानले बताउनुभयो। बाढीले कटान गरी अवरुद्ध भएको स्थानमा आठ थान ह्युमपाइप राखेर ‘कजवे’ बनाइएको छ ताकि ठूलो बाढी आउँदा पानी ‘कजवे’ माथिबाट जान सकोस्। वडाध्यक्ष मोक्तानले भन्नुभयो। यो पनि अस्थायी समाधान मात्र हो। 

दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले भन्नुभयो। “दुई जिल्ला र नगर जोड्ने पुल सडकहरू स्थानीय तहको जिम्मामा हुँदैनन् तर सङ्घ र प्रदेश सरकारले वास्ता नगरेपछि हामी छिमेकी नगरका दुई वडाले संयुक्त रूपमा सडक खुलाएका हौँ।” 

कल्भर्ट एकातिर, पानी अर्कोतिर 

मोरङको पथरीशनिश्चरे–४, मङ्गलबारेबाट छोटी टोल जाने सडकमा निर्माण भएको कल्भर्टमुनि पानी छैन र पानी बगेको माथि कल्भर्ट छैन। 

नगरपालिकाले गत आर्थिक वर्षमा चार लाख रुपियाँ खर्च गरी छोटी टोल होलीमाथि निर्माण गरेको कल्भर्ट निर्माण भएको एक महिनापछि पानीले सडक भत्काएर बाटो अवरुद्ध गरेको थियो। सडकलाई उचित सुरक्षा नगरी कल्भर्ट निर्माण गरेको स्थानीयको भनाइ छ। कल्भर्ट बन्यो तर बाटो हिँड्न पाएका छैनौँ। स्थानीय मानबहादुर दर्जीले भन्नुभयो। नगरप्रमुख र वडाध्यक्षलाई पटक पटक भन्यौँ तर सुनुवाई भएको छैन। 

यता वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले अघिल्लो आवको बजेटबाट कल्भर्ट निर्माण भएको बताउनुभयो। “हामी आउनुअघि नै कल्भर्ट बनेको हो। बाढीले सडक भत्काएपछि आवतजावत रोकिएको छ। नगरबाट बजेट निकासा गरी यथाशीघ्र बाटो सञ्चालन गरिने छ,” न्यौपानेले भन्नुभयो।