• १९ असोज २०८१, शनिबार

लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : सचिव दुवाडी

blog

आयोगका सचिव गोकर्णमणि दुवाडी चितवनमा आयोजित निर्वाचन सामाग्री, आर्थिक व्यवस्थापन तथा मतदाता शिक्षा सम्बन्धी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्नुहुँदै। तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक २ गते । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवम् सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बागमती प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज (बुधबार) चितवनमा उद्घाटन गर्नुहुँदै सचिव दुवाडीले आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारी, आचारसंहिताको कार्यान्वयन लगायत आयोग र सञ्चारमाध्यमको भूमिका र अपेक्षामाथि छलफल हुने बताउनुभयो ।

निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यसका लागि आयोगले विशेष व्यवस्था गरेको बताउनुभयो ।

आचारसंहिता पालना गर्ने/गराउने काममा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै सचिव दुवाडीले ‘सञ्चारमाध्यम र सञ्चारकर्मी पनि आचारसंहिता अनुगमनकर्ता हो’ भन्नुभयो । आयोगले लागू गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखेमा आयोगमा सूचना दिन सचिव दुवाडीले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै  उहाँले आयोग मिडियासँग सहकार्य गरेर नै अघि बढिरहेको बताउनुभयो । निर्वाचनका बेला सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्ववेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आयोगले संयन्त्र निर्माण गरेको बताउनुहुँदै सचिव दुवाडीले फेसबुकको मातृ कम्पनी मेटासँगै अन्य टेक कम्पनीसँग सहकार्य भइरहेको जानकारी दिनुभयो । सचिव दुवाडी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संयमित, विश्वसनीय र तथ्यपरक सूचनामात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उहाँले आयोगको नीति, विद्यमान कानुन र जारी गरिएका निर्देशिका लगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ—बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गर्नुभयो ।

मतदानको दिन सूचना तथा प्रसारण विभागबाट जारी गरिएको प्रेस पासका आधारमा रिर्पोटिङका लागि अनुमति दिइने बताउनुहुँदै उहाँले प्रेस पास नहुनेहरूका लागि पनि आयोगले सहजीकरण गर्ने बताउनुभयो । सचिव दुवाडीले प्रेसलाई सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो ।

सचिव दुवाडीले निर्ममताका साथ आचारसंहिता पालना गर्न र कार्यान्वयन गराउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

निर्वाचनका लागि जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापन तीव्र गतिमा भइरहेको जानकारी दिँदै सचिव दुवाडीले मतदाता शिक्षाका लागि जिल्लास्तर र स्थानीयस्तरका संयन्त्रलाई सक्रिय तुल्याउन आग्रह गर्नुभयो ।