• १९ असोज २०८१, शनिबार

शिक्षाको गुणस्तर सुधार्न सम्झौता

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, कात्तिक २ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सिस्ने गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ। गाउँपालिकाभित्रका ३९ सामुदायिक विद्यालयमध्ये ३२ विद्यालयका प्रधानाध्यापकले सम्झौतामा हस्ताक्षर गरेका छन्।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढाले आठ माध्यमिक, २१ आधारभूत र तीन बालविकासमा अध्यापन गराइराखेका प्रअहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका बताउनुभयो। विद्यालयका प्रअ तथा शिक्षकले तीन चरणमा कार्य सम्पादन गर्न सक्ने गरी सम्झौता गरिएको बुढाले बताउनुभयो। एक वर्षको अवधिमा पालिकाले प्रअसँग गरेको सम्झौताअनुसार कुल पूर्णाङ्कको कम्तीमा ५० प्रतिशत अङ्क ल्याउन नसके त्यस्तो प्रअको नियुक्ति खारेज गरी १० हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाह र सम्बन्धित विद्यालयका प्रअले हस्ताक्षर गरेको सम्झौतापत्रमा भनिएको छ।

सम्झौतामा भएका बुँदाहरू कार्यान्वयन गर्न गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने पालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो। सिस्ने गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष रेग्मीले बताउनुभयो। 

सम्झौताअनुसार नियुक्ति पाएको एक महिनामा १५ वटा काम गर्नुपर्नेछ। पूर्ण सरसफाइका सात सूचक पूरा गरी पूर्ण सरसफाइ उन्मुख विद्यालय घोषणा गर्ने, निर्मित भौतिक संरचना पूर्ण रूपमा प्रयोग, शिक्षक, विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता पालना गर्नुपर्ने गरी पालिकाले विद्यालयका प्रअसँग सम्झौता गरेको छ ।