नारद कोहार
तौलिहवा(कपिलवस्तु), वैशाख ६ गते । कपिलवस्तुको तौलिहवामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ‘विशेष माइकिङ अभियान’ सञ्चालन गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा आन्दोलन चोकबाट मोटरसाइकल मार्फत सुरु गरिएको अभियान बहादुरगन्ज चोक, गौढी चोक, भिक्षु चोक, प्रशासन चोक हुँदै जमुवार पुलसम्म सञ्चालन गरिएको थियो ।
अभियानका क्रममा बजार क्षेत्रमा अनावश्यक रूपमा हर्न नबजाउन, फुटपाथमा सवारी पार्किङ नगर्न तथा दुई पाङ्ग्रे सवारीमा चालक र सहचालकले अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न आग्रह गरिएको थियो ।
साथै मद्यपान गरी सवारी नचलाउन र रातिको समयमा दुर्घटना कम गर्न सवारी साधनमा रिफ्लेक्टर स्टिकर टाँस्न समेत अनुरोध गरिएको थियो ।
त्यसैगरी सवारीको गति नियन्त्रणमा राख्न, पैदलयात्रीलाई फुटपाथ प्रयोग गर्न तथा जेब्रा क्रसिङबाट मात्र सडक पार गर्न आग्रह गरिएको थियो ।
चार पाङ्ग्रे सवारी चालकलाई सिटबेल्ट अनिवार्य प्रयोग गर्नुपर्ने विषयमा पनि सचेतना दिइएको थियो ।
प्रहरी नायब निरीक्षक न्यौपानेले ट्राफिक नियमको पालना प्रहरीका लागि नभई आफ्नै सुरक्षाका लागि आवश्यक रहेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवाला सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।