• १९ असोज २०८१, शनिबार

पूर्वसहकर्मीबीच रोचक बन्दै प्रतिस्पर्धा

blog

तानसेन समाचारदाता

पाल्पा, कात्तिक २ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाल्पा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ मा पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ। करिब दुई दशक नेकपा एमालेमा रहेर सँगै काम गर्नुभएका पूर्वमन्त्री सोमप्रसाद पाण्डेय र एमालेका नेता ठाकुर गैरेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन मतदाताले गरेका छन्। 

पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले यस क्षेत्रको निर्वाचन थप रोचक बनेको छ। आगामी निर्वाचनमा पाण्डेय सत्तासीन गठबन्धनको तर्फबाट र गैरे नेपाल कम्युनिस्ट पार्टी एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा एकै क्षेत्रबाट चुनावी मैदानमा हुनुहुन्छ। 

दुई दशकदेखि पाण्डेय र गैरे एउटै पार्टीमा रहेर काम गर्नुभएको थियो तर एमालेको विभाजनसँगै पाण्डेय नेकपा एकीकृत समाजवादी र गैरे एमालेमै रहेर प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। 

डेढ वर्षअघिसम्म पाण्डेय एमाले पाल्पाका इन्चार्ज र गैरे सहइन्चार्ज रहनुभएको थियो। पाण्डेयले पार्टीको एमालेको राजनीतिबाट पाल्पामा चार पटक चुनाव जितिसक्नुभएको छ। गैरे भने विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ। पूर्वसहकर्मी फरक–फरक पार्टीबाट चुनाव लड्दा पाल्पा क्षेत्र नं. २ को निर्वाचन रोचक हुने भए पनि मतदाता र कार्यकर्तालाई अप्ठेरो परेको छ। “पूर्वसहकर्मी भए पनि पार्टीले टिकट दिएपछि आपसमा प्रतिस्पर्धा हुने नै भयो” एमालेका जिल्लास्तरीय नेता दामोदर घिमिरेले भन्नुभयो। 

चुनाव जसले जिते पनि निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनुपर्ने र मतपरिणामलाई दुवै पक्षले स्वीकार गर्नुपर्ने घिमिरेको भनाइ छ। यसअघिको तीन/चारवटा चुनावमा सँगै मत माग्न आउनुभएका नेताहरू फरक–फरक पार्टीबाट चुनाव लड्ने भएपछि मतदाता भने अन्योलमा परेका छन्। 

प्रतिनिधि सभाको उम्मेदवार रहनुभएका गैरेले भने पूर्वसहकर्मी पाण्डेयसँगको प्रतिस्पर्धा आफ्ना लागि सहज हुने बताउनुभयो। मतदाता र केही कार्यकर्ताका लागि प्रतिनिधि छान्न अप्ठेरो भए पनि सक्षम प्रतिनिधिका लागि मतदाताले मत दिने गैरेको विश्वास छ। त्यस्तै पाण्डेय पनि पाल्पाली जनताको पक्षमा आफूले लामो समयदेखि काम गर्दै आएकाले मतदाताले विवेक पु-याएर मत दिने बताउनुहुन्छ। एमालेभित्रको असन्तुष्ट र गठबन्धनमा आबद्ध मतदाताले मत दिनेमा पूर्वमन्त्री पाण्डेयको विश्वास छ।