• १९ असोज २०८१, शनिबार

मृतकका परिवारलाई २५ हजार सहयोग गरिने

blog

फाइल तस्बिर ।

राजन रावत

हुम्ला, कात्तिक २ गते । कर्णाली प्रदेश सरकारले गत असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्युु भएको परिवारलाई जनही २५ हजार क्रियाखर्चस्वरुप सहयोग गर्ने भएको छ । 

तत्कालका लागि क्रिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले रकम परिवारलाई उलब्ध गराउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले बताउनुभयो । 

मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा बोल्दै पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई क्रियाखर्च वापत राहत दिन सरकारले यो व्यवस्था गरेको पनि बताउनुभयो ।

पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए भने अझै १९ जना बेपत्ता भएका छन् । हुम्लामा मात्र ६ जनाको मृत्युु भएको थियो । यसैगरी प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरु उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । 

उहाँले पहिरोबाट सडकमा ठूलो क्षति पुगेकोले सरकारले सडक मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।