• १९ असोज २०८१, शनिबार

अपाङ्गता भएकाहरूबीच नमुना मतदान

blog

बुटवल समाचारदाता

बुटवल, कात्तिक २ गते । नेत्रहीन युवा सङ्घ नेपाल रुपन्देहीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अपाङ्गता भएकाहरूको मत बदर हुन नदिन नमुना मतदान गरेको छ। 

बुटवलको दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको उक्त नमुना मतदानमा विभिन्न प्रकृतिका अपाङ्गता भएकाहरूको सहभागिता थियो।

आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई आफ्नो मताधिकारको सहज प्रयोग, अपाङ्गतामैत्री संरचना र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानीसहित नमुना मतदान गरिएको नेत्रहीन युवा सङ्घका अध्यक्ष टीकाराम पौडेलले बताउनुभयो। ‘मतदान जीवनदान’जस्तै महत्त्वपूर्ण भएकाले मत बदर नहोस् भन्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो। नमुना मतदान कार्यक्रममा ह्विल चेयर प्रयोगकर्ता, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, न्यून दृष्टिविहीनलगायत अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो।

सो अवसरमा निर्वाचन आयोगद्वारा उपलब्ध गराइएको नमुना मतपत्रसँगै निर्वाचन अधिकृत, पर्यवेक्षक, प्रतिनिधि र सुरक्षा व्यवस्थासमेत गरिएको थियो। उक्त नमुना मतदानमा अपाङ्गता भएकाहरूका साथै स्थानीयको समेत उत्साहजनक सहभागिता रहेको पहुँच परियोजना रुपन्देही जिल्ला अधिकृत लक्ष्मी पाण्डेले बताउनुभयो।