• १३ साउन २०८१, आइतबार

चाडबाडको आर्थिक प्रभाव

blog

आर्थिक वर्षको सुरुले प्रशासनिक तथा आर्थिक क्षेत्रमा महìव राख्ने गर्दछ। आर्थिक वर्षको सुरुसँगै बजेट र वार्षिक कार्यक्रमले निर्दिष्ट गरेका कार्यत्रmम कार्यान्वयनमा तत्परता देखाउनुपर्ने हुन्छ। यसले वार्षिक बजेटमा रहेका कार्यक्रमको कार्यान्वयनबाट सरकारले सम्पादन गर्नुपर्ने काम सम्पादन हुने, जनआकाङ्क्षाको सम्बोधन हुने र पुँजीगत खर्च हुने गर्छ। आर्थिक वर्षको सुरु अर्थात् पहिलो चौमासिकमा यी कामको जग जति बसाल्न सकियो सो आर्थिक वर्षमा सोहीअनुरूप प्रगति हासिल हुने गर्छ। नेपालको सन्दर्भमा आर्थिक वर्षको सुरुसँगै आउने यो आर्थिक तथा प्रशासनिक दायित्वको साथसाथै पहिलो चौमासिक चाडबाडमय बन्ने गरेको छ। यसले आर्थिक तथा प्रशासनिक दायित्व निर्वाहको काममा केही अवरोध सिर्जना गर्ने गरेको पाइन्छ।

श्रावण महिनाको सुरुवातसँगै विभिन्न चाडपर्व आउने गर्छन्। पहिलो चौमासिकमा हरितालिका तीज, ऋषि पञ्चमी पर्ने गर्छ। हरितालिका तीजका केही दिन औपचारिक बिदा हुने भए पनि केही वर्षयता लगभग एक महिना नेपाली नारी तीजको नाचगान र खानपानमा रमाइलो गर्दै आएका छन्। नारी पीर, वेदना पोख्ने चाडको रूपमा समेत परिचित तीजले सभ्रान्त वर्गमा समेत पकड जमाउन सफल भएको छ। यसै सेरोफेरोमा बुवाको मुख हेर्ने दिन, गाईजात्रा, रक्षाबन्धन आदि पर्छन्। घटस्थापना अगाडिका १५ दिन सोह्र श्राद्ध करिब करिब सबै परिवारले पूर्वज तथा पितृको स्मृतिप्रति आफ्नो श्रद्धा अर्पण गर्ने गर्छन्। यसले कार्यालयमा थप दिन बिदा लिने प्रवृत्ति बढ्दै गएको छ। यी दिनमा अधिकांश कर्मचारी बिदा बस्नुपर्ने अवस्था रहन्छ। नेपालीको महान् चाड दशैँ र तिहारमा लामा बिदा हुने गर्छन्। यी चाडहरू मनाउन आफ्नो घर जाने हुँदा थप केही दिन बिदा लिने प्रचलन पनि छ। यसै अवधिमा म्हपूजा, नेपाल संवत् र छठ पर्व पनि पर्ने गर्छ। यी चाडपर्वका आफ्ना मौलिक सांस्कृतिक विशेषता छन्, यिनीहरूले विशिष्ट ऐतिहासिक परम्परा बोकेका छन्, समयको क्रमसँगै ऐतिहासिक मूल्यमान्यताको निरन्तरतामा आधुनिकता पनि क्रमशः समाहित हुँदै गइरहेको छ। यी दिनमा या त सार्वजनिक बिदा पर्छन् या थप बिदा लिने गरिन्छ। यसरी आर्थिक वर्षको सुरुवात श्रावण महिनासँगै कात्तिक वा मार्ग पहिलो हप्तासम्मका अवधि चाडपर्वको सुखद वातावरण, परिवार, नाताकुटुम्ब र आफन्तसँग रमाइलो र खुसी साटासाटमा व्यस्त हुनुपर्ने हुन्छ। यसरी सुरुका यी चार महिना कार्यालयमा बढी बिदा हुने दिन र कर्मचारीले बढी बिदा लिने दिनमा पर्छन्।

यसका अतिरिक्त कुनै जाति, जनजाति वा क्षेत्र विशेषले मनाउने उधौली उभौली, विभिन्न ल्होसार, माघी,  इद, गौरा पर्व फागु, चैते दशैँका आआफ्ना महìव र विशेषता छन्। केही वर्षयता क्रिसमस डे, इस्वी संवत्को नयाँ वर्ष, भ्यालेन्टाइन डेसमेत अब क्रमशः नेपालीको सांस्कृतिक परम्परासँग नजिकिँदै गएको छ।  नेपाल भाषिक, धार्मिक, भौगोलिक, सांस्कृतिक विविधतायुक्त मुलुक हो। यहाँका हरेक जात, जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक महìव छ। हाम्रा प्रत्येक चाडपर्व मनाउनुको पछाडि विशिष्ट उद्देश्य छन्। हाम्रा चाडपर्व धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीकको रूपमा रहेका छन्। हाम्रा प्रत्येक चाडपर्व आपसी भाइचारा, बन्धुत्व, स्नेह सम्बन्ध, सदाचरण आदि गुण अभिवृद्धि गर्नमा सहायक बन्ने गरेका छन्। यो धार्मिक र सांस्कृतिक सहिष्णुता नेपालको विविधताभित्रको सुन्दर पक्षको रूपमा रहेको छ। 

सबै कर्मचारीले आफूले मनाउने चाडका लागि प्रत्येक वर्ष सो चाड सुरु हुनु १५ दिनपूर्व एक महिनाको तलब बराबरको रकम चाडबाडखर्च वापत पाउने व्यवस्था छ। सुरुमा दशैँ पेस्की, दशैँ खर्च हुँदै चाडपर्व खर्चमा रूपान्तरण भएको यो सुविधा दशैँ खर्चको रूपमा उपभोग गर्ने कर्मचारीको बाहुल्यता छ। 

विशेष चाडबाड खासगरी दशैँ, तिहार, तीज, सोह्र श्राद्धजस्ता अवधिका बिदा नहुने दिनमा ठूलो सङ्ख्याका कर्मचारी बिदामा बस्ने प्रवृत्ति छ, यसबाट यी दिनमा कार्यालयमा कर्मचारीको कम उपस्थिति हुने र फलस्वरूप सेवा प्रवाह वा दैनिक प्रशासनिक कार्य प्रभावित हुने गरेको छ। दशैँको घटस्थापनापूर्व र छठसम्मका अवधि कार्यालयमा सबैभन्दा बढी बिदा बसिने अवधिको रूपमा रहेका छन्। हरितालिका तीज महिलाका लागि बिदा हुने दिन भए पनि केही वर्षयता तीज अगाडिका धेरै दिन दरको नामबाट प्रभावित हुने गरेका छन्। पहिलो चौमासिकमा पुँजीगत खर्च नहुनुको विभिन्न कारणमध्ये पहिलो चौमासिक चाडबाडको सघन अवधि र कर्मचारी बढी बिदा बस्नुपर्ने अवधि हुनु पनि एउटा कारक तत्व हो। पहिलो चौमासिकमा पुँजीगत खर्चका लागि आधार तयार हुन नसक्दा यसको प्रभाव बाँकी चौमासिकमा समेत पर्ने गरेको छ।

चाडबाडहरू जति सांस्कृतिक रूपमा महìवपूर्ण हुन्छन् त्यति नै आर्थिक क्षेत्रमा प्रभाव पार्ने गर्छन्। नेपालीको कुल उपभोगको २० प्रतिशत दशैँ र तिहारमा र लगभग पाँच प्रतिशत अन्य चाडबाडकै अवधिमा हुने गरेको छ। नेपालीहरूको कुल वार्षिक आयमध्ये ७५ प्रतिशत चाडबाडमा र त्यसमध्ये ५० प्रतिशत दशैँ तिहारमा खर्च हुने गरेको छ।  व्यापारिक दृष्टिले वर्षभरिमा हुने कुल व्यापारमध्ये चाडपर्व अझ खासगरी दशैँ तिहारको अवधिमा लगभग ४० प्रतिशत व्यापारमा यी चाडपर्वको योगदान रहेको छ। मासुजन्य वस्तुहरू, दूधजन्य वस्तुहरू, खाद्यान्न र तरकारीको बढी बिक्री हुने समय पनि चाडबाडकै अवधि हो। यी वस्तुहरूको बिक्रीमा आउने यो उच्च अवस्थाले किसानको आयस्तरमा पनि केही वृद्धि हुने गर्छ। तर किसानले आफ्नो उत्पादन सिधै बजारमा ल्याउन नसक्ने र बीचमा बिचौलियाको प्रवेश हुने हुनाले व्यावसायिक विक्रेता वा बिचौलियामा नाफाको ठूलो अंश जाने र किसानले कम मूल्य पाउने र उपभोक्ताले बढी मूल्यको भार खप्नु पर्ने अवधि पनि यही नै हो। कपडा, इलेक्ट्रोनिक्स सामान, जुत्ता, रङ रोगन, फर्निचर, चिनी मदिरा, पेय पदार्थले बढी बजार पाउने समय पनि चाडबाडकै अवधि हो। यसको अतिरिक्त स्थल यातायात र हवाई यातायातका दृष्टिले यातायात सञ्चालकका लागि यी अवधि सुनौला अवधि हुन्। क्यु कुर्न पर्ने, खाली सिट राखेर साधन सञ्चालन गर्नुपर्ने, टिकटमा छुट दिनुपर्नेजस्ता समस्या यी अवधिमा रहँदैनन्। 

यस अवधिमा यी सबै वस्तु वा सेवाको मूल्यवृद्धि अधिक हुने गर्छ। बजारको नियमअनुसार माग बढ्ने र आपूर्ति सोअनुरूप हुन नसक्दा मूल्य बढ्नु स्वाभाविक हो। यसको अतिरिक्त कुनै वस्तु वा सेवाको आपूर्ति निश्चित व्यापारिक समूहमा रहेको हुन्छ, उसले चाडबाडमा चाहिने सामान आन्तरिक रूपमा वा आयातमार्फत केही समय अगाडिदेखि नै आफ्नो नियन्त्रणमा राखेको हुन्छ, जसबाट मूल्यमाथि पनि उसकै नियन्त्रण रहेको हुन्छ। हाम्रो अनुगमन संयन्त्रहरूको कमजोर क्षमताको कारणले एकाध ठाउँमा मूल्यवृद्धि र गुणस्तर नियन्त्रणमा सफल देखिए पनि यसको सर्वत्र सकारात्मक प्रभाव पर्न सकेको देखिँदैन। व्यापारिक क्षेत्रमा देखिनुपर्ने संस्थागत सुशासन वा व्यावसायिक सुशासनको कमी पनि यसको कारक तत्व हो। 

आयातको दृष्टिले श्रावणपछिका महिना बढी चापका महिना हुन्। आयातकर्ताले तीज, दशैँ, तिहार र छठजस्ता चाडको अवसरलाई उपयोग गर्न र ती सामानहरू डिलरमार्फत रिटेलरसम्म यथासमयमा पु¥याउन श्रावण लागेदेखि नै आयात गर्ने गर्छन्। यसकारण चाडबाडको यो अवधि आयातको दृष्टिले मात्र होइन भन्सार राजस्व सङ्कलनका दृष्टिले पनि महìवपूर्ण हुने गर्छ। आयातको यो चाप र बजारमा सामान बिक्रीमा बढेको चापले आन्तरिक राजस्वको ठूलो स्रोतको जोहो पनि यसै अवधिमा हुने गर्छ। आर्थिक गतिविधिमा आउने यी 

शृङ्खलाले श्रम सम्बद्ध व्यक्तिको रोजगारीमा वृद्धि हुने र आयआर्जन हुने गर्छ। चाडबाडको अवधि चलचित्र व्यापारको दृष्टिले अब्बल रहने गर्छ यसैकारणले नयाँ चलचित्रको प्रदर्शनका सुरुवात यसै अवधिमा गरिन्छ। विज्ञापन बजारका दृष्टिले पनि चाडबाडको अवधि सुखद मानिन्छ। देशभित्रका उद्योग र उत्पादकहरूले पनि आफ्नो उत्पादन यस अवधिमा बढाउने गर्छन्।

वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण प्राप्तिको ठूलो हिस्सा यसै अवधिमा केन्द्रित हुने गरेको छ। नेपाल सरकारको कोषबाट मासिक तलब र निवृत्तिभरण प्राप्त गर्ने कर्मचारीहरूका लागि लगभग रु. १२ अर्बभन्दा बढी रकम चाडबाड खर्चबापत भुक्तानी हुने गर्छ भने अन्य क्षेत्रमा काम गर्ने कामदार कर्मचारीले यस अवधिमा यसै नाममा पाउने बोनस, अतिरिक्त सुविधा वा चाडबाड खर्चको रकम योभन्दा बढी हुने गर्छ। यसरी २५ अर्बभन्दा बढी रकम यस अवधिमा कर्मचारीको हातमा पर्ने गर्छ, जुन रकमले बजारमा स्थान पाउने गर्छन्। साथै लगभग १० देखि १२ अर्ब नयां नोटको प्रवाह पनि यसै अवधिमा हुने गर्छ। भदौ असोज लागेपछि हामीले हरेक वर्ष भोगिरहनुपरेको एउटा समस्या चिनी र अत्यावश्यक उपभोग्य सामग्रीको आपूर्तिको पक्ष हो। नेपाली चिनी व्यवसायीको भनाइमा नेपाल चिनीमा आत्मनिर्भर छ यसै कारणले सरकारले चिनी आयातमा आन्तरिक उत्पादकको हितका लागि चिनीको आयातमा सङ्कुचनको नीति लिए पनि चिनीको आपूर्तिको असहजता र मूल्यवृद्धि र अन्तत चिनीको आयातमा उदार बन्नुपर्ने प्रवृत्ति कायमै छ । आन्तरिक आपूर्ति, आयात र मूल्यको यो त्रिकोणीय समीकरण मिल्न सकिरहेको छैन। 

कृषिप्रधान देश नेपालले यस अवधिमा आफ्नो तुलनात्मक लाभका क्षेत्रहरू खसी, बोका, राँगाको समेत अत्यधिक आयात गर्नुपर्ने बाध्यता छ। अर्कोवर्ष आउने चाडबाडलाई लक्षित गरेर मासुको आपूर्ति बढाउने वा आयातमा न्यून गर्ने रणनीति बनाउन र सोको कार्यान्वयन गर्न हामी चुकिरहेका छौँ। त्यसैगरी, प्रत्येक नेपालीको घर आँगनमा हुने र जतासुकै फुल्न सक्ने मखमली फूलको केही महिनाको मात्र व्यावसायिक योजना बनाउन नसक्दा तिहारमा करोडौँको मखमली फूल र मालाको समेत आयात हुने गरेको छ। जनै, नागको तस्बिर, दियो, पाला, मैनबत्ती, धूप, तिहारको टीका भाइमसलाजस्ता आफैँ उत्पादन गर्न सक्ने र आत्मनिर्भर हुन सक्ने सामग्रीको ठूलै मात्रामा आयात हुने गरेको छ। सरकारले सार्वजनिक संस्थाको सहभागितामा सुपथ मूल्य पसल यस्ता चाडबाडमा सञ्चालन गर्ने गरेको छ। यस्तो सुविधा काठमाडौँ वा सहरकेन्द्रित हुने गरेको छ र यसको क्षेत्र विस्तारको आवश्यकता छ।