• २१ साउन २०८२, बुधबार

स्याङ्जा–पर्वत सडक खण्ड एकतर्फी सञ्चालन

blog

सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 
वालिङ(स्याङ्जा), साउन २१ गते ।
अविरल वर्षाका कारण अवरुद्ध भएको स्याङ्जा–पर्वत सडकखण्ड एकतर्फी सुचारु भएको छ । वालिङ नगरपालिका–१४, डुम्रेभन्ज्याङमा पहिरो जाँदा सोमबार बिहानबाट अवरुद्ध भएको सडक मङ्गलबार साँझबाट एकतर्फी खुलेको वालिङ–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै ठाउँमा गएको ठुला–ठुला पहिरोका कारण सडक सुचारु गर्न ढिलाइ भएको हो ।

पहाडी क्षेत्र र भीर भएका कारण लामो समयको प्रयास पछि एकतर्फी सडक सुचारु भएको उहाँको भनाइ छ । दुई तर्फी रुपमा सडक सुचारु गर्न केही दिन लाग्ने कुँवरले जानकारी दिनुभयो ।

वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी  जोड्ने सडक पहिरोका कारण अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन अलपत्र परेका थिए ।