• २१ साउन २०८२, बुधबार

अढाई करोडभन्दा बढी खर्च गरी निर्माण गरिएको भवन अलपत्र

blog

अमगढी नगरपालिका १ ढुनढुनेमा निर्माण गरिए पनि अलपत्र अवस्थामा रहेको औद्योगिक ग्राम भवन । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 
डडेल्धुरा, साउन २१ गते ।
जिल्ला सदरमुकाममा अढाई करोडभन्दा बढी खर्च गरी निर्माण गरिएको भवन अलपत्र अवस्थामा छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ को ढुनढुनेमा निर्माण गरेको औधोगिक ग्राम पूर्वाधारअन्तर्गतको भवन अलपत्र परेको हो । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आर्थीक सहयोगमा भवन निर्माण गरिएको थियो । २०७८ कात्तिक महिनामा  ठेक्का सम्झौता भई २०८० सालमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने पनि भवन निर्माण भएको दुई वर्ष बिति सक्दासम्म भवनको सदुपयोग हुन सकेको छैन ।

सुदूरपश्चिम प्रद्येशका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजगर्मा कैलाली–डडेल्धुरा भिमदत्त राजमार्गसँगै जोडिएको भवन प्रयोगमा ल्याउन नसक्दा भवन परिसरमा झाडी पलाएको छ । राजमार्गबाट भवनसम्म जाने करिब दुई सय मिटको कच्चि सडकबाटो वर्षातले भत्किसकेको छ । भवनको अगाडि लगाइएको ठुलो पर्खाल समेत भत्कीन थालेको छ । भवन निर्माणका लागि उद्योग तथा आपूर्ती मन्त्रालयले बजेट कम दिएका कारण भवनमा उद्योग स्थापना गर्न समस्या भएको अमरगढी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो ।

तर मन्त्रालयले दिने रकम मध्ये अधिकांश रकम उपलब्ध गराई खर्च भइसकेको छ । उहाँका अनुसार करिब तीन करोड रुपियाँ मन्त्रालयले दिनुपर्ने थियो । दुई वर्ष अघि नै दुई करोड ६३ लाख रकम  मन्त्रालयबाट प्राप्त भइसको छ । निर्माण गरिएको भवनमा उद्योग स्थापनाका लागि पूर्ण रुपमा भवन निर्माण नभई सकेको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायो भनाइ छ । 

एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना योजना अलपत्र

एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना गरि स्थानीय स्तरमा स्थानीयलाई रोजगारीको सिर्जना गर्ने  सरकारको लक्ष्य अनुसार अमरगढी नगरपालिकामा भवन निर्माण गरिएको थियो । ग्राममा स्थापना हुने उद्योगबाट रोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य लिइएको भए पनि लक्ष्य अनुसार कामले गति लिन सकेको छैन । साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने बताइए पनि पर्याप्त बजेट नहुदा औद्योगिक ग्राम स्थापनाको काम अनिश्चित बनेको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दुई करोड ६१ लाख रुपियाँको टेण्डरमा ठेक्का सम्झौताभई अमरगढी नगरपालिका १ ढुनढुनेमा औद्योगिक ग्रामका लागि भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का सदर भई आर्थिक वर्ष २०८०/०८१ मा भवन निर्माणको काम सम्पन्न गर्ने सम्भौता अमरगढी नगरपालिकाले निर्माण कम्पनीसंग गरेको थियो । भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जोशी अमृत जेभीले भवन निर्माण गरिसकेको छ । तर औद्योगिक ग्राम भने स्थापना हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने योजना ल्याइएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी भवन निर्माणको काम थालिएको थियो । स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययन गरेको थियो ।

कम्पनीका परामर्शदाता डिल्लीराज अधिकारीका अनुसार कञ्चनपुरमा चार, कैलालीमा छ, डडेल्धुरामा तीन, दार्चुलामा दुई, बैतडीमा एक, बझाङमा एक, अछाममा दुई र डोटीमा दुई औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिइएको छ ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवनसहित बैंक तथा वित्तीय सेवा, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी बिक्री कक्ष, शौचालय पार्किङस्थल, चमेनागृह, प्राथमिक उपचार केन्द्र हुने छन । स्थानीय साधन स्रोत, कच्चा पदार्थ, प्रविधि र सीप परिचालन गरी औद्योगिक ग्राममा लघु, घरेलु तथा साना उद्योग स्थापना हुने छन् । तर हालसम्म यस्तो हुन नसक्दा स्थानीय निरास भएका छन् ।