• १३ साउन २०८१, आइतबार

सप्तरीमा दुई पार्टीका अध्यक्ष प्रतिस्पर्धामा

blog

देवरामप्रसाद यादव

सप्तरी, असोज ३१ गते । सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच प्रतिस्पर्धा हुँदै छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर पनि प्रतिस्पर्धामा हुनुहुन्छ। 

नेपाल कम्युनिस्ट पार्टी एमाले–जसपाबाट उम्मेदवार रहेका यादवसँग डा. सीके राउत पहिलो पटक चुनावी मैदानमा होमिनुभएको हो। २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन र नेपाली कांग्रेसको समर्थनमा यादव २१ हजार ६२० मत प्राप्त गरी विजयी हुनुभएको थियो। त्यतिबेला निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५८० मत प्राप्त गर्नुभएको थियो। 

यस पटक जयप्रकाश ठाकुर सत्ताधारी पाँच दलकै गठबन्धनका उम्मेदवार हुनुहुन्छ। लोसपा, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन्। 

राजविराज नगरपालिकासहित महादेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले र राजविराज नगरपालिकामा भने जसपाले जितेको थियो।  

गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार ३७५ र एमालेले तीन हजार ६९३ मत प्राप्त गरेको थियो। कांग्रेसले १३ हजार ३१५, लोसपाले १३ हजार ५४८, माओवादी केन्द्रले सात हजार ७७६ र एकीकृत समाजवादीले तीन हजार २७१ मत ल्याएको थियो।