• १३ साउन २०८१, आइतबार

जीवन शैली

फेसनमा अनलाइनको बढ्दो प्रयोग

blog

काठमाडौँ, असोज २९ गते । बदलिँदो जीवनशैलीसँगै युवा अवस्थामा फेसनका लागि अनलाइन सपिङको लोकप्रियता बढ्दो छ। लत्ताकपडा होस् वा सौन्दर्य प्रसाधन फेसनका लागि अनलाइनको प्रयोग बढ्दो छ। ओछ्यानमै बसी–बसी सामान छनोट गर्न सक्नु र एक कल फोनकै भरमा घरमै सामान प्राप्त गर्नुले पनि यसमा लोकप्रियता बढेको हो। 

बढ्दो व्यस्ततामा यस्ता आवश्यकता पूर्ति गर्न समय खर्चिरहनु कठिन कुरा हो। जसलाई सहज बनाइदिएका छन्, लोकप्रिय बन्दै गइरहेका अनलाइन सपिङ सेवाले। घरमै बसी–बसी आफूले चाहेका सामग्री प्राप्त गर्न सकिने यी माध्यम ग्राहकका लागि वरदान साबित भएका छन्।

अहिलेको युवापुस्तामा अनलाइन सपिङको विशेष क्रेज छ। अनलाइनबाट बढी बिक्री हुने भनेका ग्याजेट्स, सौन्दर्य प्रसाधन, पहिरन, जुत्ता–ब्याग तथा एसेसरिज नै हुन्, जुन ठूलो रकमका हुँदैनन् तर दैनिक जनजीवनमा महत्त्वपूर्ण अर्थ राख्ने खालका हुन्छन्। पछिल्लो समयमा संसारभर लोकप्रियता हासिल गरिरहेको अनलाइन सपिङ नेपालमा समेत प्रचलित हुँदै गएको छ। 

समय परिवर्तनका क्रममा मानवीय स्वभावमा तात्त्विक भिन्नता नभए पनि आवश्यकता र माग भने फराकिलो हुँदै गएको अनुभव सानिमा बैङ्कमा कार्यरत सितु श्रेष्ठले भन्नुभयो। उहाँले कामको व्यस्तताका कारण पनि अनलाइनमा सपिङ (खरिद) गर्नु परेको जानकारी दिनुभयो। बिहान ९ देखि बेलुका ६ बजेसम्म बैङ्कमा हुन्छु, कहिले बाहिर गएर सामान खरिद गर्न जाने समय नै पाउँदिनँ, म त फुर्सद भयो कि विभिन्न अनलाइन साइटतिर हेर्ने गर्छु।  

यस्ता अनलाइनबाट घरायसी सामान, लत्ताकपडा, ब्याग, जुत्ता आदि एसेसरिज, ग्याजेट्स मात्र होइन खाद्यान्न, फर्निचर, बालबालिकाका लागि सम्पूर्ण प्याकेजलगायतका सामग्री उपलब्ध हुन्छन्, जहाँ सामानको गुणस्तर मात्र नभई मूल्य, त्यसको विशेषता, प्रयोग गर्ने तरिका आदिका बारेसमेत जानकारी प्राप्त गर्न सकिन्छ। 

विगत ६ वर्षदेखि नर्स पेसामा आबद्ध मिलीषा बस्नेत बजारमा किनमेल गर्न जानु प¥यो भने हप्ता दिनअघि नै प्लान बनाउनुहुन्थ्यो। साथीहरूलाई फोन गर्ने, समय छुट्याउने, साधनको बन्दोबस्त गर्ने कुरामै प्रशस्त समय खर्च भइसकेको हुन्थ्यो तर अहिले उहाँलाई अनलाइन सपिङको बानी बसेको छ। काम सकेपछि केही सयम भएको बेलामा विभिन्न अनलाइन सपिङ साइटमा व्यस्त हुनुहुन्छ।

उहाँले भन्नुभयो, “यसले मेरो समय मात्र नभई पैसाको समेत बचत गराएको छ। एक पटक सपिङ जाँदा भाडा–खाजा खर्च भनेर त्यसै पनि पाँच सयदेखि एक हजार सकिन्थ्यो तर घरमै बसी–बसी सपिङ गर्दा त्यति पैसाले त अर्को एउटा सामान किन्न पुग्छ। त्यसबाहेक अनलाइन सपिङमा न धुलो न धुवाँ न भीडभाड, आफूलाई मन परेको सामान आफ्नै ओछ्यानमा सिरकभित्रै बसी–बसी मजाले छान्न पाइन्छ। 

अनलाइन सपिङको बानी परेकालाई भीडभाडमा गएर, घण्टौँ लगाई सामान छानेर समय बरबाद गर्न मन लाग्दैन। यस्ता अनलाइन सपिङले धेरैलाई सहज मात्र बनाएका छैनन्, व्यस्त दैनिकीमा समय बचत गरिदिने बलियो माध्यमसमेत बनेको बस्नेतको अनुभव छ। कतिपय अनलाइन साइट्सले ग्राहकको सुविधालाई ध्यानमा राख्दै बिल भुक्तानीमा सहज एवं सुलभ सेवा प्रदान गर्न ई–सेवा, पेयपल, एससिटी मोको अथवा इन्टरनेट बैङ्किङसमेत प्रयोग गर्ने गरेका छन्। यस्ता सेवाले ग्राहकसँग तत्काल नगद नभएको खण्डमा पनि सामान खरिद गर्न सक्ने विकल्प उपलब्ध गराउँछन्।