श्यामशंङकर पाण्डे
लुम्बिनी, असोज २८ गते । नेपाल सरकारका गृहमन्त्री एवम् सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनु संवैधानिक अधिकार भएकाले सबै नागरिकलाई नागरिकता दिइने बताउनुभएको छ ।
संवैधानिक अधिकारअनुसार वर्तमान सरकारले नेपालमै जन्मिएका, नेपालमै हुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा नरहेको समेत उहाँले प्रस्ट पार्नुभयो । क्षेत्रमा रहेका बडास्तरीय प्रचार कार्यालयको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले सरकारले ल्याएको नागरिकता विधेयक नेपालमा जन्मिएर अनागरिक बस्नुपरेकाको पक्षमा रहेको बताउनुभयो ।
‘नेपालमा बस्ने नेपालीले नागरिकता पाउनुपर्छ, विदेशीलाई दिने होइन’ उहाँले भन्नुभयो, “नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउनु हुँदैन । नेपाली नागरिकलाई नागरिकता दिन्छौँ ।’ नागरिकता नहुँदा धेरै नेपाली आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार पनि आफ्ना नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताउनुभयो ।
नागरिकलाई मौलिक र आधारभूत अधिकारबाट वञ्चित गराउँदै लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुन थालेपछि त्यसको रक्षाका लागि वर्तमान गठबन्धन निर्माण भएको उहाँले बताउनुभयो । स्वर्गीय गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे सम्झौता गरी अगाडि बढाएको शान्ति प्रक्रियालाई स्थायित्व दिँदै मुलुकलाई शान्ति र विकासका दिशामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।