• १३ साउन २०८१, आइतबार

खाल्टाखुल्टीले पुलमा जोखिम

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज २८ गते ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लखन्देही खोलाको पुलमा ठूला खाल्टाखुल्टी पर्दा जोखिम बढेको छ। साँघुरो र अत्यन्तै जीर्ण रहेको यस पुलमा सवारी आवागमन नै प्रभावित हुने गरी ठूला खाल्डा परेका छन्। 

लखन्देही पुलको अवस्था नाजुक बन्दा पनि सडक कार्यालयले मर्मतमा चासो नदिएको बस व्यवसायी दीपक श्रेष्ठले बताउनुभयो। खाल्डामा परेर गाडी लच्किँदा अर्को सवारीसँग ठोक्किएर दुर्घटना हुने गरेको उहाँले बताउनुभयो। तीव्र गतिमा आउने सवारी खाल्डामा परेर अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहेको चालक बताउँछन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ईश्वर कार्कीले खाल्टाखुल्टीका कारण सवारीसाधन बिस्तारै र पालैपालो पार हुनुपर्दा लखन्देही खोलामा सवारीको जाम बढ्दै गइरहेको बताउनुभयो। 

“यो पुलमा त्यसै पनि सवारीको जाम लागेको हुन्छ, त्यहीमाथि अहिले खाल्टैखाल्टा भएर गाडी पास हुनै समय लाग्छ,” ट्राफिक प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, “रात्रि बससहित अन्य सवारीको चाप हुने साँझको समयमा त झनै समस्या हुन्छ।” सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले लखन्देही पुलको खाल्टाखुल्टी एक÷दुई दिनमै पुरिने जनाएको छ। “सर्लाही खण्डको सडक त अहिले ठीकै छ, लखन्देखी पुल मात्रै बिग्रिएको हो, त्यो पुल पनि एक÷दुई दिनमै मर्मत गछौँ,” डिभिजन सडक प्रमुख दारोगाप्रसाद साहले भन्नुभयो। उहाँले पुलसँगै बिग्रिएका ठाउँमा सडक मर्मतको कामलाई पनि अघि बढाइने बताउनुभएको छ।