• ११ असोज २०८१, शुक्रबार

निर्वाचनमा एकले अर्कोलाई होच्याउने हैन

blog

दमक समाचारदाता 

दमक, असोज २८ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री अग्नि खरेलले निर्वाचनको समयमा एकले अर्कालाई होच्याउने र नभएका विषयमा भ्रम छर्ने काम कसैले पनि गर्न नहुने बताउनुभएको छ। 

झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका खरेलले लोकतान्त्रिक अभ्यास र संविधानको प्रावधानअनुसार सबैले आफ्नो अधिकार प्रयोग गर्न पाउने जनाउँदै अनावश्यक रूपमा विखण्डन ल्याउने कार्य नगर्न उहाँको अनुरोध छ।

वैचारिक र राजनीतिक मुद्दामा बहस नगरेर झुटा प्रचारमा लाग्ने कार्य सुहाउँदो हुँदैन, उहाँले भन्नुभयो। भ्रम फैलाएर जनतालाई झुक्याउन सकिन्छ कि भनेर सोच्नु अहिलेको समयमा जायज होइन, उहाँको भनाइ छ। केही प्रतिस्पर्धीहरूले वैचारिक मुद्दाको सट्टा भ्रम फैलाउने काम गरिरहेको उहाँको आरोप थियो।

विकासका एजेन्डाहरूको विषय तथा मुलुकलाई सही दिशानिर्देश गर्ने विषयमा गहन छलफल र बहस गर्नुपर्ने यो समयमा उम्मेदवारहरूले एकले अर्काको विरोध गर्ने कार्य गर्ने काम भइरहेको भन्दै यस्तो कार्यले सही बाटोमा पुग्न नसकिने खरेलको भनाइ थियो। 

जिल्लाको क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेलबीच यहाँ प्रतिस्पर्धा हुने देखिन्छ। शर्मा गठबन्धनका उम्मेदवार रहनुभएको छ भने खरेल राप्रपाको समर्थनसहित एमालेको उम्मेदवार हुनुहुन्छ।