• २१ वैशाख २०८१, शुक्रबार

चार सय चार स्वर्णका लागि प्रतिस्पर्धा गर्दै ६ हजार १५७ खेलाडी

blog

नवौं राष्ट्रिय खेलकुदको मुख्य केन्द्र पोखरा रंगशाला । फाइल तस्बिर

काठमाडौं, असोज २७ गते । नेपाली खेलकुदको सबै भन्दा ठूलो घरेलु महाकुम्भ नवौँ राष्ट्रिय खेलकुदको औपचारिक शुभारम्भ शुक्रबार पर्यटकीय नगरी पोखरामा हुँदै छ । प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार गरिने भएपनि अधिकांश खेलहरू अगाडि नै सुरु भइसकेका छन् । 

राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो । यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा) ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ । 

प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गर्नुहुनेछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने भनिए पनि राष्ट्रपति भण्डारी अस्वस्थ रहेका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्नुहुने भएको हो । 

कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न राखेपले यसअघिकै विभिन्न १४ वटा समिति तय गरेर तयारी गरेको थियो । राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको समेत राखेपले जनाएको छ । 

गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन हुन लागेको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । 

यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् । 

यसअघि राखेपले राष्ट्रिय खेलकुदका लागि प्रत्येक टोलीका लागि व्यक्तिगत र समूहमा गरी सहभागी खेलाडीको कोटा सङ्ख्या सात सय नौ जना तोकेको थियो । जसमा तीन सय ७४ पुरुष र तीन सय ३५ महिला खेलाडीको पूर्ण कोटा निर्धारण गरिएको थियो । 

तर, नवौँको फितलो व्यवस्थापन र खेलाडी छनोटमै अल्झन आएका कारण सबै टोलीले पूर्ण कोटामा खेलाडी सहभागी गराउन सकेका छैनन् । नवौँमा सबैभन्दा बढी सङ्ख्यामा खेलाडी आयोजक गण्डकी प्रदेशले मैदानमा उतार्दै छ । 

गण्डकीबाट सात सय ६ जना खेलाडीले ३६ खेलमै प्रतिस्पर्धा गर्दैछन् । गण्डकी पछि सर्वाधिक खेलाडी आर्मीले सहभागी गराउँदै छ । ३६ वटै खेलमा भाग लिन लागेको आर्मीले ६ सय ६८ जना मैदानमा उतार्दै छ । 

त्यसपछि बागमती प्रदेशले ३६ खेलका लागि ६ सय ५६ जना, प्रदेश–१ ले ३५ खेलमा ६ सय ८४ जना, सुदूरपश्चिमले ३२ खेलमा ६ सय १८ जना, एपीएफले ३१ खेलमा पाँच सय ५८ जना, नेपाल पुलिस क्लबले २९ खेलमा पाँच सय ८७ जना र मधेश प्रदेशले २८ खेलमा ५ सय ४५ जना खेलाडी सहभागी गराउँदै छ । 

यसैगरी लुम्बिनीले ३५ खेलमा तीन सय ४८ जना, कर्णाली प्रदेशले ३० खेलमा पाँच सय तीन जना र एनआरएनएले १७ खेलमा एक सय १६ जना प्रतिस्पर्धा गराउँदै छ । नवौँ अन्तर्गत पुरुष क्रिकेट एक महिना अघि नै सम्पन्न भइसकेको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० फ्रेन्चाइज लिगको बहानाका एक महिना अघि गरेको क्रिकेट प्रतियोगितालाई वर्षाले बिथोलेको थियो । काठमाडौँको कीर्तिपुर र मुलपानी मैदानमा भएको पुरुष क्रिकेटमा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश र एपीएफ क्लब पानीका कारण समूहका खेल खेल्न नपाई बाहिरिएका थिए । 

जसमा पुरुष क्रिकेटको स्वर्ण पुलिसले जितेको थियो । फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी आर्मी क्लबलाई आठ विकेटले हराएको थियो । पुलिसको उक्त पदक नवौँको पहिलो स्वर्ण पदक पनि हो ।