• २६ फागुन २०८२, मङ्गलबार

जाजरकोटमा तीन हजार ४५६ मत बदर

blog

वासुदेव शर्मा
जाजरकोट, फागुन २६ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा जाजरकोटमा तीन हजार ४५६ मत बदर भएका छन् । शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उक्त संख्यामा मत बदर भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार निर्वाचनमा खसेको मतमध्ये बदर मतको संख्या उल्लेख्य रहेको छ । एक लाख सात हजार १९१ मतदातामध्ये ६१ हजार १२४ मत खसेको थियो । खसेको मतमध्ये ५७ हजार ६६८ मत सदर भएको र तीन हजार ४५६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामलाल प्याकुरेलका अनुसार निर्वाचन आयोगको निर्देशनअनुसार गाउँ–टोलसम्म मतदाता शिक्षा सञ्चालन गरिएको थियो । मतदाताले आफ्नो मताधिकार सही तरिकाले प्रयोग गरून् भन्ने उद्देश्यले मतदाता शिक्षाका लागि स्वयंसेवकसमेत परिचालन गरिएको थियो ।

२०७९ सालको निर्वाचनमा तीन हजार ६९६ मत बदर भएका थिए । गत निर्वाचनसँग तुलना गर्दा यस पटक बदर मतको संख्या खासै घटेको देखिएको छैन ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्गबहादुर बुढा निर्वाचित हुनुभएको छ । उहाँले २० हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेतले १७ हजार ५०७ मत प्राप्त गर्नुभएको छ । बस्नेतलाई बुढाले दुई हजार ६३५ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।