अनिल पराजुली
हेटौँडा, फागुन २६ गते । मकवानपुरमा पूर्व सांसदसहित ३५ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रका ३५ जना उम्मेदवारको धरौटी जफत भएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५ स्वतन्त्रसहित २० दलका उम्मेदवारको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन अधिकारी ढकालले सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको जानकारी दिनुभयो । मकवानपुर १ बाट जितेका पूर्वसासद दीपकबहादुर सिंहसहितका सबै स्वतन्त्र उम्मेदवारले धरौटी बचाउने मत कटाउन नसकेका हुन् ।
मकवानपुर क्षेत्र १ मा ९० हजार ७२५ सदर मतअनुरूप नौ हजार ७३ मत ल्याउनुपर्ने भए पनि १८ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । दलका ८ र स्वतन्त्रका १० उम्मेदवारले धरौटी जोगाउने मत ल्याउन नसक्नुभएको हो ।
मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी दिपक बहादुर सिंह ४ हजार ५७४, श्रम संस्कृति पार्टी विद्या श्रेष्ठ एकहजार २४, स्वतन्त्र टिका प्रसाद चौलागाई ५३४, मंगोल नेशनल अर्गनाइजेसन युवराज लामा ३५९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) महेश नेपाली १०८, नेपाल मजदुर किसान पार्टी रंजना सुवाल मगजु ५१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी तेजप्रसाद उप्रेती ५०, स्वतन्त्र मठु पुलामी मगर ३०, जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह) दिपक सिन्तान २८, जनता समाजवादी पार्टी, नेपाल रुपक लामा २४, स्वतन्त्र अमिक परियार २३, स्वतन्त्र प्रमिला कुमारी खतिवडा २३, स्वतन्त्र ज्ञान सागर लामा १९, स्वतन्त्र राजाराम बोगटी ९, स्वतन्त्र अमर दंगाल ८, स्वतन्त्र सुशिला सुवेदी ८, स्वतन्त्र राकेश कुमार शर्मा ५, स्वतन्त्र राज कुमार खड्काले एक मत ल्याउदा उहाँहरुको धरौटी जफत भएको हो ।
त्यस्तै, मकवानपुर क्षेत्र नं. २ मा ८५ हजार ६१९ सदर मतअनुरूप धरौटी जोगाउनका लागि ८ हजार ५६२ ल्याउनुपर्ने भए पनि १७ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । दलका १२ र स्वतन्त्र ५ उम्मेदवारले धरौटी जोगाउन नसक्नु भएको हो ।
मकवानपुर–२ मा उज्यालो नेपाल पार्टी प्रविन कुमार स्याङतान ६ हजार २३७, श्रम संस्कृति पार्टी युनेश लामा सिंतान ९३२, राष्ट्रिय प्रजातन्त्र पार्टी राम बहादुर थोकर ७८५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राम घलान ३६१, हिरा लाल स्याङतान मंगोल नेशनल अर्गनाइजेसन २६० मत ल्याउनुभएको छ ।
त्यस्तै स्वतन्त्र सितामाया बल २०४, राष्ट्रिय जनमोर्चा निर बहादुर सिन्तान १३१, प्रगतिशील लोकतान्त्रिक पार्टी सन्तोष विष्ट ७२, संयुक्त नागरिक पार्टी शुभ राज प्रजा ५७, नेपाल मजदुर किसान पार्टी सरोज तामाङ ४२, आम जनता पार्टी(एकल चुनाव चिन्ह) सूर्य राई २३, स्वतन्त्र प्रतिक्षा बानिया २१, जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह) छविलाल वाईवा १५, नेशनल रिपब्लिक नेपाल सुर्य तामाङ बल १४, स्वतन्त्र अमृत बल १२, स्वतन्त्र कृष्ण राम श्रेष्ठ ७, स्वतन्त्र रमेश आचार्य २ ल्याउदा उहाँहरुको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरको दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । मकवानपुर १ मा ३६ हजार ३३ मतका साथ प्रकाश गौतम र मकवानपुर २ मा ३० हजार ५० मतका साथ प्रशान्त उप्रेती विजयी हुनुभएको थियो ।