• २८ फागुन २०८२, बिहिबार

लमजुङमा नेकपासहित नौ उम्मेदवारको जमानत जफत

blog

लमजुङमा मतगणना गर्दै गणकहरु । तस्बिर : नवीनराज कुइकेल

नवीनराज कुइकेल
लमजुङ, फागुन २६ गते ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि उहाँहरुको जमानत जफत भएको हो । जमानत जोगाउनेमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङ रहनुभएको छ । कुल ७५ हजार ४ सय ६० मत खसेकोमा दुई हजार ४५० मत बदर भएको छ । ७३ हजार १० मत सदर भएकोमा विजयी केसीले ३३ हजार ८९८ मत अर्थात् ४६ दशमलव ४२ प्रतिशत मत प्राप्त गर्नुभयो । एमालेका गुरुङले १६ हजार ८७६ मत अर्थात् २३ दशमलव ११ प्रतिशत र कांग्रेसका गुरुङले १६ हजार ५६९ मत अर्थात् २२ दशमलव ६९ प्रतिशत मत प्राप्त गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजङ तामाङले तीन हजार ३७१ मत अर्थात् ४ दशमलव ६१ प्रतिशत मत प्राप्त गर्दा जमानत जोगाउन सक्नुभएन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केविन्द्रजङ गुरुङले एक हजार मत अर्थात् १ दशमलव ३६ प्रतिशत मत पाउँदा जमानत गुमाउनुभयो । बाँकी सात जनाले १ प्रतिशत मत समेत ल्याउन सकेनन् ।

श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ५६५ मत, मंगोल नेश्नल अर्गनाइजेजनका विकास गुरुङले ३५१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविन्द्र नखोलाले १४४ मत, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १३० मत, जनादेश पार्टीका मिलन वास्कोटाले ५३, नेश्नल रिपब्लिक नेपालका भरत गुरुङले ४१ र नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत प्राप्त गर्नुभयो । १० प्रतिशत मत ल्याउन नसकेका नौ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिनुभयो । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता नपाउने उहाँले बतानुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्छ । महिला, दलित वा अल्पसङ्ख्यक तथा आर्थिक रुपले विपन्नको हकमा ५० प्रतिशत छुटको व्यवस्था छ । लमजुङमा कुल मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकोमा ७५ हजार ४६० मत अर्थात् ५५ दशमलव ०३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा मतदानका लागि १३० मतदान स्थलको एउटा अस्थायीसहित १९३ मतदान केन्द्र कायम गरिएको थियो ।