सिराज खान
नेपालगन्ज, फागुन २६ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ ।
यसअघि जिल्लाका ती दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको हो । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार ७२७ मतदाता रहेकोमा ७६ हजार ६२ मत खसेकोमा ७२ हजार ३७० मत सदर भएको थियो भने तीन हजार ६९२ मत बदर भएको थियो । सोही प्रकारले क्षेत्र नम्बर ३ मा एक लाख १७ हजार ४०८ मतदाता रहेकोमा ७४ हजार ६१६ मत खसेको थियो । सोमध्ये ७१ हजार १८४ मत सदर भएको र तीन हजार ४३२ मत बदर भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले दिएको जानकारी अनुसार रास्वपाका उम्मेदवार सुरेश चौधरीले प्रत्यक्षतर्फ ३२ हजार ७९२ मत प्राप्त गरेर विजयी भएको क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ पनि ३१ हजार ३०६ मत प्राप्त गरि रास्वपा पहिलो दल बनेको छ ।
सो क्षेत्रमा प्रत्यक्षमा तेस्रो भएको नेकपा एमालेले समानुपातिकमा १६ हजार २६० मत प्राप्त गरेर दोस्रो दल बनेको छ । सोही प्रकारले प्रत्यक्षमा दोस्रो बनेको नेपाली कांग्रेसले समानुपातिकमा १३ हजार २७८ मत प्राप्त गरेर तेस्रो दल बनेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेक बहादुर शाहीले बताउनुभयो ।
यसैगरि सो क्षेत्रमा नेकपाले चार हजार १५८ मत पाएर चौथो र राप्रपाले २ हजार ९६५ मत पाएर पाँचौँ दल बनेको छ ।
बाँके क्षेत्र नम्बर ३ मा पनि प्रत्यक्षमा पहिलो भएको रास्वपाले समानुपातिकमा पनि ३४ हजार ३८३ मतका साथ पहिलो दल बनेको छ । सो क्षेत्रमा १४ हजार २२४ मतका साथ नेपाली कांग्रेस दोस्रो र १० हजार ३२० मतका साथ नेकपा एमाले तेस्रो दल बनेको छ ।
यसैगरी, ५ हजार ८४३ मत ल्याएर नेकपा चौथो र ४ हजार २८४ मतका साथ राप्रपा पाँचौँ दल बनेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।