• १३ साउन २०८१, आइतबार

सुरक्षा व्यवस्था कडा बनाएको दाबी

blog

महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बसेको निर्वाचन सुरक्षालक्षित बैठकमा सहभागी सुरक्षा प्रमुखहरू । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज २३ गते । भारतको बिहारसँग खुला सीमा जोडिएको महोत्तरीमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न अनेकन् चुनौती रहे पनि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।  

भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

निर्वाचन तयारीसँगै सुरक्षा निकायले जनसम्पर्कसमेत बढाउन थालेपछि जिल्लामा यसको अनुकूल प्रभाव देखिएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक पहाडीले निर्वाचन लक्षित सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको दाबी गर्नुभयो । उहाँका अनुसार सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको छ । सुरक्षा बन्दोवस्तिमा आइतबारका लागि निर्धारित उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम समेत समेटिएको प्रजिअले बताउनुभयो । 

‘मनोनयन दर्ता आफैमा संवेदनशील विषय हो’ पहाडीले भन्नुभयो ‘निर्वाचन अधिकृतको कार्यालय र उम्मेदवारको सुरक्षा, आचारसंहिताको निगरानी लगायतका विषयलाई केन्द्रित गरी सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा परिचालन गरिएको छ ।’ 

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि महोत्तरीमा २५८ मतदान स्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भारतसँग करिब ३९ किमी खुला सीमा रहेको महोत्तरीमा आमनिर्वाचन चुनौतीको विषय भएको बताइएको छ ।

भौगोलिक अवस्थितिका कारण २५८ मध्ये १४३ मतदान स्थल अतिसंवेदनशील, ११४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरिएको प्रहरी उपरीक्षक (प्रउ) कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो । 

‘यसै वर्गीकरणको आधारमा जिल्लाभरिका ४ वटै निर्वाचन क्षेत्रका मतदान स्थल र मतदान केन्दमा सुरक्षा बन्दोबस्त मिलाइएको छ’ उहाँले भन्नुभयो । प्रउ पंगेनीकाअनुसार कुनै पनि चुनौतीको सामना गर्न सक्नेगरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । 

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी चार हजार ३ सय र सशस्त्र ६ सयबढी प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै नेपाली सेनाले निर्वाचन सुरक्षालाई सघाइरहेको र राष्ट्रिय अनुसन्धानले हरेक गतिविधिमाथि सूक्ष्म निगरानी राखेको जनाइएको छ । 

प्रजिअ पहाडीसमेत नेपाल प्रहरीका एसपी पङ्गेनी, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी दीपेन्द्र गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख गाउँवस्ती पुगेरै स्थानीयसँग छलफल गर्नुभयो ।