• ११ असोज २०८१, शुक्रबार

झापामा दशैँ मेलाको मुख्य आकर्षण सतार नाच

blog

आफ्नो परम्परागत नृत्यमा अभिभावकसँगै रमाउँदै सतार बालकहरु । तस्विर– विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असोज २२ गते । झापामा परम्परागत सतार नृत्य हराउँदै गएको छ । झापासहित पूर्वका दशैँका मेलाहरुको प्रमुख आकर्षणको रुपमा रहने गरेका परम्परागत सन्थाल अर्थात सतार नृत्य लोप हुने अवस्थामा पुग्दै गएको हो । कोरोनाका कारण दुई वर्षसम्म दशैँ मेला नलागेको र पछिल्लो समयमा उत्पन्न आर्थिक समस्याका कारण यो पटक सतार नृत्य गर्ने समूहहरुमा कमी आएको हो ।

झापाको कमल गाउँपालिकामा मात्र दशैँको समयमा पाँच स्थानमा फरकफरक दिनमा दशैँ मेला लाग्ने गरेको छ । जहाँको प्रमुख आकर्षण नै सतार नृत्य र जेरी अर्थात् जिलेबी हुने गरेको छ । यसको साथै जिल्लाका अधिकांश ठाउँमा लाग्ने दशैँ मेलाको आकर्षण नै यही हुने गरेको पाइन्छ । 

गरामनी मेलामा सबैभन्दा पुरानो र ठूलो मानिन्छ । यहाँ भारतबाट समेत सतारहरु परम्परागत सतार नृत्य लिएर यहाँ आउने गरेका छन् । गरामनीमा एकादशीका दिन लागेको मेलामा १३ वटा सतार नृत्य गर्ने समूहहरुले आफ्ना कलाकौशल प्रयोग गरेर परम्परागत नृत्य देखाएका थिए । कुनै समय यहाँ ३० देखि ३५ वटा सम्म समूहहरु आउने गरेका छन् ।

नेपाल सन्थाल विकास सङ्घका अध्यक्ष बडाराम हेमरमका अनुसार दशैँमा सतार नृत्य सबैले हेर्न रुचाउने र धित मरुन्जेल हेर्ने त्यसपछि तिनै सतारहरुको खोजी नहुने समस्या रहेको बताउनुभयो । सतार नृत्यको कमी आउनुमा गाउँघरबाट सतारहरु नै पलायन बन्दै जानुभएको पनि उहाँको भनाइ छ ।

जातीय सांस्कृतिक सम्पदा जोगाउन सन्थाल अर्थात् सतारहरुको अस्तित्व र पहिचान जोगाउन आवश्यक छ, उहाँले भन्नुभयो । सतार अति सीमान्तकृत समूहमा रहेको आदिवासी जनजाति हाे ।