धनगढी समाचारदाता
धनगढी, मङ्सिर ४ गते । थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथामा घर घर खबर पु¥याउनका लागि चौकीदार (चिरक्या) राख्ने चलन छ तर पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमनसाले नै चौकीदारको काम पनि गर्ने क्रम बढ्न थालेको छ ।
गाउँको सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कतिपय गाउँमा भलमनसाले नै आफैँ चौकीदारको भूमिका पनि निर्वाह गर्न थालेका हुन् । चौकीदारलाई अनिवार्य पारिश्रमिक दिने चलन छ । त्यो पारिश्रमिक खर्च कटौती गर्नका लागि भलमनसा बन्नेले नै चौकीदारको भूमिका पनि निर्वाह गर्ने क्रम बढिरहेको धनगढी उपमहानगरपालिका–७, देवहरियाका भलमनसा भौनीदेवी चौधरीले बताउनुभयो ।
३० घरधुरीको नेतृत्व गरिरहनुभएका उहाँले चौकीदारले गर्ने काम पनि आफैँले गरिरहेको जानकारी दिनुभयो । “गाउँमा भलमनसा बन्न चिठा हाल्ने गरिएको छ,” चौधरीले भन्नुभयो, “भलमनसाले नै सबै घरमा बैठकलगायत बेगारी (सार्वजनिक काम) को खबर पु¥याउने निर्णय अनुसार मैले गाउँको नेतृत्व र सन्देशवाहकको काम गरिरहेको छु ।”
गाउँको नेतृत्व र सन्देशवाहक दुवै काम गरेबापत गाउँवासीले प्रतिघरधुरीबाट वार्षिक चार सय रुपियाँ पारिश्रमिक दिने गरेका छन् । धनगढी उपमहानगरपालिका–६, मटियारीका भलमनसा बिन्तीराम चौधरीले पनि आफैँले चौकीदारका रूपमा घर घर खबर पु¥याउने कार्य गरिरहनुभएको छ । छ वर्षदेखि गाउँको नेतृत्व गर्दै आइरहनुभएका उहाँले त्यति नै समयदेखि चौकीदारले गर्ने काम पनि गरिरहेको सुनाउनुभयो । “भलमनसा र चौकीदारको भूमिका निर्वाह गरेबापत प्रतिघरधुरीबाट वार्षिक ४० केजीको दरले धानबाली पाउने गरेको छु,” उहाँले भन्नुभयो ।
भलमनसा प्रथामा भलमनसा (नेतृत्वकर्ता), अघरिया (सहायक भलमनसा), देशबन्धिया गुरुवा, केसौका र चौकीदार रहने चलन छ तर पछिल्लो समय पारिश्रमिकबापत दिइने आर्थिक भार कटौतीका लागि गाउँवासीकै निर्णयमा भलमनसाले नै खबरवाहकको काम गरिरहेका छन् । त्यसै गरी चौकीदार कोही बन्न नचाहेका कारणले पनि बाध्य भएर भलमनसाले नै चौकीदारले गर्ने काम गर्नु परिरहेको छ । गाउँमा चौकीदारका रूपमा कोही पनि काम गर्न इच्छुक नभएपछि चौकीदारको भूमिका पनि आफैँले निर्वाह गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिका–४, मोतीपुरका भलमनसा वीरबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चौकीदारको आवश्यकता छ तर कोही बन्न चाहेका छैनन् । त्यसैले नेतृत्व र सन्देश पु¥याउने कार्य म आफैँले गरिरहेको छु ।” गाउँमा भलमनसा र चौकीदारका रूपमा काम गरेबापत आफूले प्रतिघरधुरीबाट वार्षिक पाँच केजी धान र एक बेगारी पारिश्रमिक पाउने गरेको चौधरीले जानकारी दिनुभयो ।
थारू समुदायमा सहायक अन्य नभए पनि भलमनसा र चौकीदार रहनुपर्ने अनिवार्य छ । गाउँको नेतृत्व गर्न तथा खबर पु¥याउन यी दुई नभई हुँदैन तर पछिल्लो समय चौकीदार बन्न कोही अगाडि नबढ्ने समस्या देखिएको छ । कोही चौकीदार बन्न इच्छुक नभएपछि बेलौरी नगरपालिका–१०, सडकघाटमा लट्ठी चौकीदारको अभ्यास गर्न थालिएको छ । सो गाउँका भलमनसा हरिलाल चौधरीका अनुसार एक घरका व्यक्तिले १० दिन चौकीदारको भूमिकामा काम गर्नु पर्दछ । १० दिन पुगेपछि सो भूमिकामा रहेको व्यक्तिले नदोहोरिने गरी आफ्नो छिमेकको घरमा लट्ठी पु¥याउने गरिएको छ । लट्ठी पाएको परिवारका व्यक्तिले १० दिन चौकीदारका रूपमा काम गर्नु पर्छ । यसरी नै पालैपालो चौकीदार बन्ने क्रम चलिरहेको छ ।