• ४ मंसिर २०८२, बिहिबार

नयाँ टर्मिनल भवन वैशाखसम्ममा

blog

नवराज कट्टेल

विराटनगर, मङ्सिर ४ गते । आगामी नयाँ वर्ष २०८३ साल वैैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास गरिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम सम्पन्न पुस मसान्तसम्ममा नै सम्पन्न गर्नुपर्ने भए पनि वैशाखअगावै सम्पन्न हुन सक्ने स्थिति देखिएको छैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । इन्जिनियर खड्काले भन्नुभयो, “सिभिल वर्क सकिएको छ । अब मेकानिकलतर्फका काम बाँकी छन् । विमानस्थलसँग सम्बन्धित उपकरण कतिपय आइसकेका र कतिपय आउने व्रmममा रहेको छ ।” उहाँले उपकरण जडान गरिसक्दा आर्किटेक्टतर्फका कामसमेत सकिने बताउनुभयो ।

इन्जिनियर खड्काले भन्नुभयो, “२०८३ साल वैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्न सक्ने छ ।’’ टर्मिनल भवन निर्माण सम्झौता २०७९ मङ्सिरमा केसी÷डाँफे जेभीसँग भएको थियो । यसको शिलान्यास  २०७९ फागुन १ गते भएको थियो । भ्याटबाहेक दुई अर्ब ४२ करोड १६ हजार रुपियाँमा २७७ वर्ग मिटरको भवन निर्माण हुनुपर्ने छ । हालसम्म ७१ प्रतिशत भुक्तानी ठेकेदार कम्पनीले बुझिसकेको छ । 

केसी÷डाँफे जेभी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश पौडेलले दैनिक दुई सयभन्दा बढी कामदार परिचालन गरेर निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । दसैँअगाडिको केहि अन्योलको अवस्थाका कारण केहि दिन काम रोकिदा त्यसले असर पारेको पौडेलको भनाइ छ । 

कुल १६ हजार २७७ वर्ग मिटरको नयाँ टर्मिनल भवन देशभरका आन्तरिक विमानस्थलमध्ये ठुलो हुने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १५ हजार वर्ग मिटर र गौतमबुद्धको १४ हजार वर्ग मिटरको टर्मिनल भवन रहेको छ । विसं २०२५ मा बनेको पुरानोभन्दा उत्तरतर्फ नयाँ टर्मिनल भवन बनेपछि विमानस्थलको धावनमार्ग विस्तार गर्ने योजना रहेको छ । पुरानो टर्मिनल भवनले ओगटेको क्षेत्रमा धानवमार्ग विस्तार गर्दा २७० मिटर बढ्ने अनुमान गरिएको छ । हाल विराटनगर विमानस्थलको धावनमार्ग एक हजार पाँच सय मिटरको छ ।

नयाँ टर्मिनल भवन ५५० यात्रु बस्ने क्षमता भएको र १७ वटा चेकइन काउन्टर हुने छ । त्यसबाहेक अतिविशिष्ट कक्ष, बालबालिका खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार अध्यागमन, क्वारेन्टाइनसहित केहि व्यावसायिक कारोबार क्षेत्रसमेत रहने छ । तीनतले भवनमा चार वटा लिफ्ट र चार वटा स्काइलेटरसमेत रहने योजनामा उल्लेख छ । 

कोशीका पर्यटन व्यवसायी भवेश श्रेष्ठले आधुनिक टर्मिनल भवन निर्माणसँगै विराटनगर विमानस्थलबाट पर्वतीय उडानको सुरुवात गराउन सके त्यसबाट लाभ लिन सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले अन्तरप्रादेशिक उडान, अन्तरदेशीय उडानको समेत सम्भावना रहेको बताउनुभयो ।