• २९ कात्तिक २०८१, बिहिबार

दशैँ आए पनि कैदी बन्दीलाई खर्च अभाव

blog

काठमाडौं असोज १७ गते । विगतका वर्षमा जस्तै यस वर्ष पनि कैदी बन्दीको दशैँ खर्च तीन सय रुपियाँ छ । विभिन्न सेवा सुविधा बापतको रकम कम भएको भन्दै बढाउनुपर्ने माग उठे पनि दशैँ खर्च यथावत् छ । बन्दी जीवन बिताइरहेकाहरूले मिलीजुली दशैँ मनाउँदै छन् । 

केन्द्रीय कारागार सुनधाराका प्रमुख जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जे सेवा सुविधा पहिले दिइएको थियो अहिले पनि त्यही नै छ । सरकारले तीन सयको दरले कैदी बन्दीहरूलाई दशैँ खर्च दिने गरेको छ । दशैँ घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत यसको उतिकै महत्त्व छ । उहाँले भन्नुभयो, “कारागारमा रहेका जनशक्तिलाई पुग्ने गरी कुखुरा, खसिबोका, राँगालगायतको मासुको व्यवस्थापन गरिएको छ ।” उहाँहरूले रमाइलो गर्न आफ्नै तयारी पनि गर्नुभएको छ । 

बाहिरको भन्दा कम दशैँ कारागारभित्र नहुने जेलर पाण्डेले बताउनुभयो । सुधार गृहका रूपमा रहेको सुन्धारा बन्दीगृहमा विभिन्न कार्यक्रम गरी दशैँ मनाइन्छ । 

यस वर्ष पनि दशैँ तयारीका साथ मनाइँदै छ । केन्द्रीय कारागार सुनधारामा कैदी बन्दीका लागि दशैँको तयारी गरिएको छ । बन्दी जीवन बिताइरहेकाहरूका लागि सरकारले दिएको खर्च अपुग देखिएपछि काठमाडौं महानगरपालिकाले पनि सहयोग गर्ने भएको छ । महानगर प्रत्येक वर्ष कैदीबन्दीलाई पुग्ने गरी दशैँमा मासु खान रकम सहयोग गर्दै आएको छ । त्यसका लागि माग गरिएको छ । “मागअनुसार महानगरले दिने कुरा छ, चार पाँच वटा खसी, बोका, राँगा बन्दीलाई पुग्ने गरी मासु खर्च दिइएको छ,”जेलर पाण्डेले भन्नुभयो । पुग्ने गरी मासु पाउने भएपछि कैदीबन्दीहरु पनि खुसी देखिएका छन् ।

तीन सय रकम अपुग

कैदी बन्दीलाई सरकारले २०६४ सालदेखि दशैँमा मासु खान भनेर तीन यस रुपियाँ दिँदै आएको छ । अहिलेसम्म त्यति नै दिने गरेको बन्दी श्याम (नाम परिवर्तन गरिएको) ले बताउनुभयो । उहाँ विगत १५ वर्षदेखि कारागारमा बन्दी जीवन बिताइरहनुभएको छ । उहाँले भन्नुभयो, “अहिले किलोको तीन सयको दरले कुनै पनि मासु आउँदैन, मसला, लुगा, कपडा कसरी किन्ने, दशैँ खर्च तीन सयमा मेरो चित्त बुझेको छैन ।” उहाँ आफू पनि मानव रहेकाले इच्छा, आकाङ्क्षा पूरा नहुने गुनासो पोख्नुभयो ।

श्यामले भन्नुभयो, “यहाँ देशी र विदेश कैदी बन्दीहरू छौँ, सबैको घर परिवार भेट्न आउन सक्ने अवस्थामा छैनन्, हामीलाई कसले दिन्छ, सम्झेर दिन कट्छ, धन्न तीन सय पनि दिन्छ, तर यो एकदम न्यून रकम हो ।” कतिको परिवार नै हुँदैन । कैदीबन्दीलाई हेर्ने दृष्टिकोण फरक रहेको पनि उहाँले सुनाउनुभयो । “जान अन्जानमा घटना हुन पुग्छ अनि जेल जीवन सुरु हुँदा परिवार विलय भएको कति छ, यसले साथीहरू कति जना मानसिक स्वास्थ्यको सिकार पनि भएका छन्, यो कुरा कसले बुझिदिने,” श्यामले सुनाउनभयो । 

सरकारले वर्षको दुई जोडा कपडा, दैनिक सात सय ग्राम चामल दैनिक खाजा खर्च ६० रुपियाँको दरले मासिक १८ सय दिन्छ । त्यसले सबै थोक नपुग्ने उहाँको भनाइ छ ।  

दशैँमा कारागारको माहौल

१२ महिनै तीन हजार बढी कैदीबन्दी रहने यो कारागारमा घटस्थापनादेखि विभिन्न कार्यक्रमहरू राखिएको छ । सबै कैदीबन्दीहरु जेलरको हातबाट टीका पनि थाप्छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म घरका आफन्त तथा नातेदार लागि सुरक्षाबीच टीका तथा आशीर्वाद आदानप्रदान गर्न समारोह नै आयोजना गरिने पाण्डेले बताउनुभयो । 

सरकारले दिने दशैँ खर्च कम भए पनि रमाइलो गरी मनाउने तयारी रहेको महिला कैदीबन्दी सुनीता (नाम परिवर्तन)ले बताउनुभयो । सुनिताका अनुसार कारागारभित्र पाँच–छ वटा खसी काटिएको छ । “त्यसका लागि पहिले नै तयारी थियो, सबैको सल्लाहअनुसार मिलेर खाने, खेल्ने नाचेर रमाइलो गरी दशैँ मनाउँछौँ, रोएर कराएर केही हुँदैन, समय पुगेपछि छुट्टि हाल्छौँ, किन चिन्ता लिनु,” सुनिताले हाँस्दै भन्नुभयो । तर, उहाँको मन भारी देखिन्थ्यो । दशैँ, तिहारजस्ता चाडपर्वमा कारागारको माहौल नै छुट्टै हुन्छ । 

हुन त कारागारभित्र खेल्ने, पढ्ने, सिप सिकेका लागि विभिन्न कामको व्यवस्थापन पनि गरिएको छ । तर, मानिस भइसकेपछि एउटा खोरमा जीवन जिउन आफैमा एकदमै कठिन कुरा हो । बाहिर जति हाँसो भए पनि मन सधैँ कुँडिने गरेको श्याम बताउनुहुन्छ । उहाँको अझै तीन वर्ष जेल जीवन बाँकी छ । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।