• ७ कात्तिक २०८२, शुक्रबार

छिम्केश्वरी र बुढीमाई मन्दिरको संरक्षणका लागि महायज्ञ

blog

महायज्ञका लागि आँबुखैरेनी बजारमा मण्डवहरु बनाइँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक ७ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरको संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धनका  उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिले कात्तिक ८ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन गर्ने भएको हो । छिम्केश्वरी माई मन्दिरलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार महायज्ञमार्फत १० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । उक्त क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई देशविदेशमा प्रचार–प्रसार गर्न महायज्ञ महत्त्वपूर्ण अवसर हुनेछ । महायज्ञबाट उठ्ने रकम मन्दिरको स्थायी संरचना, गुरु योजनाअनुसार ध्यान केन्द्र, सभाहल, सरसफाइपूर्वाधार, विश्रामगृह, शौचालय, बाटो र पार्किङ निर्माणमा खर्च गरिनेछ ।

आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले गाउँपालिकाले छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्राथमिकता दिएको बताउनुभयो । उहाँले स्थानीय सरकार, नागरिक समाज र दातृ समुदायको सहकार्यमा मन्दिर परिसरलाई व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो  । त्यसैगरी गाउँपालिकाका निर्वतमान अध्यक्ष गिरबहादुर थापाले मन्दिर क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि विगतदेखि नै पहल हुँदै आएको बताउँदै अबको चरणमा दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।

समितिले मन्दिर क्षेत्रको संरक्षण, फूल तालिम केन्द्र स्थापन, यात्री विश्रामगृह निर्माण, भक्तजनका लागि सहज आवागमनका व्यवस्था र सरसफाइ सुदृढीकरणलगायत पाँचवटा प्राथमिक कार्ययोजना अघि सारेको छ । महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी हाट बजार लगाइने र वाचनप्रविण पण्डित दिनबन्धु पोखरेल प्रवचन दिनुहुने आयोजकले जनाएको छ ।

समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।  पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म १६ किमी कच्ची सडकको यात्रा र त्यसपछि आधा घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । छिम्मेश्वरी मन्दिर पुनर्निर्माणमा ८० लाखभन्दा बढि लगानी र बुढीमाईको पुनर्निर्माणको कामलाई अघि बढाइएको वडा नम्बर ५ का वडाध्यक्ष दिलिप गुरुङले जानकारी दिनुभयो ।