• १२ साउन २०८१, शनिबार

पाथीभरा माताको दर्शनमा भक्तजनहरुको भीड

blog

पाथीभराको दर्शन गर्ने भक्तजनहरुको भीड । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भक्तजनको भीड लागेको छ । दशैँको नवरात्रपछि पाथीभरामा भक्तजनको भीड लागेको हो । 

पाथीभराको दर्शनका लागि दशैँ र तिहारको अवधिलाइ मुख्य मौसम मानिन्छ । यही मौसममा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्नेगरेको छ । विगतदेखिकै परम्पराअनुसार नवरात्र यता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको बताइएको छ । पाथीभरा दर्शनका लागि आन्तरिक तथा बाह्य तीर्थयात्रीको आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 


पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार एकैदिन करिब तीन हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् । नवरात्रपछि दैनिक हजारौं सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको महतले जानकारी दिनुभयो । पाथीभराको दर्शन गर्न शनिबार अरु दिनभन्दा बढी भक्तजन आएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार आइतबार दशैंको फूलपातीका दिन पनि करिब एक हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् । प्रदेश १ अर्थात पूर्वी नेपालको अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । सङ्घीय राजधानी काठमाडौं लगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ । 


यता गतवर्षको तुलनामा पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या न्यून छ । यसवर्ष अन्धशुक्र भएकाले तुलनात्मक रुपमा न्यून सङ्ख्यामा भक्तजन आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी महतले जानकारी दिनुभयो । दशैंको मौसममा नवरात्र यता सुरु हुने भक्तजनको आगमन कोजाग्रत पूर्णिमासम्म नै कायम रहने गरेको छ । यो मौसममा अरु दिनभन्दा भक्तजनको बाक्लो उपस्थिति रहने गरेको उहाँले बताउनुभयो ।