• ८ मंसिर २०८१, शनिबार

‘सखिया नाच’को रमझम सुरु

blog

सिराज खान 

नेपालगञ्ज, असोज १४ गते ।  दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ । दशैँअघि नै सुरु भएर दशैँ सकिएको केही दिन पछिसम्म नाचिने यो नाचले अहिले बाँके र बर्दियाका थारू गाउँबस्तीमा विशेष रौनक छाएको छ ।   

दशैँको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बडघर र भद्रभलाद्मी यसका संरक्षक हुन्छन् । सखिया नाचिने थारू गाउँमा दशैँ सुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारू अगुवा विक्रम थारूले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दशैँको दिन दिनभरि नाच्ने गरिएको बताउनुभयो । 

अगुवा थारूका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे, त्यति नै रौनकता आउँछ । यो नाचका लागि कम्तीमा चार÷पाँच जना मादल बजाउने युवा हुन्छन् । १५÷२० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो रङको चोलिया र रातो रङको रिबन लगाउने गर्छन् । सखिया नाचमा विशेषतः थारू समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव–पार्वती, पाण्डव, कृष्णलगायत देवीदेउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने चलन रहिआएको बाँके वनकटुवाका अर्का थारू अगुवा दीपेन्द्र चौधरीले बताउनुभयो । 

उहाँका अनुसार युवाले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा विशेषतः युवकयुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गरेका हुन्छन् । नाचका लागि महिला समूहमा चार जना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । महिलामा एक जना मोहरनिया, एक जना पचगिनिया र दुई जना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छन् भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठगोहियाले साथ दिने काम गर्छन् । त्यस्तै मादल बजाउने अगुुवा, पछुवा मदरियाले त्रासन् मार्ने काम गर्छन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।

थारू पहिरनमा सजिएर नाच्ने गरेका युुवतीहरूले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङ्ना, कुकरलगौतीजस्ता थारू संस्कृति झल्किने गहना; गोन्या, चोल्या, फरियाजस्ता पहिरन र सात रङले सजिएको मञ्जिरा लगाएर नाच्ने गरेको टिटिहिरियाकी मीना चौधरी बताउनुहुन्छ । सखिया नाच नभए गाउँमा चाडपर्व आएको महसुस नहुने उहाँको भनाइ छ । गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखिया रहेको बाँके नौबस्ताका थारू अगुवा शङ्कर थारूको भनाइ छ । सखिया नाचले थारू गाउँको एकताको भावना प्रकट हुने गरेको उहाँ बताउनुहुुन्छ । उहाँका अनुसार यो नाच सकिएपछि जम्मा भएको पैसाले सबै मिलेर नदीबाट ल्याएको माछा र अन्य परिकार तयार पारी खाने प्रचलन छ ।