• ९ मंसिर २०८१, आइतबार

सहज बन्दै तमोर कोरिडोर

blog

कविराज घिमिरे

हिले, असोज १० गते । केही वर्षअघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निकै मुस्किल थियो। यातायात चढ्नैपर्ने अवस्था आए घण्टाैँ लगाएर मेची र कोसी राजमार्ग पुग्नुपथ्र्यो। यो क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टाैँ लगाएर बोकेरै जोहो गर्ने गरेकामा अब भने अवस्था फेरिएको छ। तमोर कोरिडोर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै सहज भएको छ। 

तराईबाट पूर्वी पहाड हुँदै चीनसम्म जोड्ने छोटो मार्गका रूपमा रहेको तमोर कोरिडोरमा यातायातका साधन सञ्चालनमा आउन थालेपछि स्थानीयवासी उत्साहित बनेका छन्। तमोर कोरिडोर सडकको ट्र्याक निर्माण भएपछि पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारका बासिन्दालाई निकै सहज भएको छ। 

पूर्वी पहाडका जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग रहेको सो सडकमा यातायातका साधन सञ्चालनमा आएसँगै दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन बजार पु¥याउन निकै सहज भएको स्थानीयवासी बताउँछन्। करिब एक दशकयता भने यो क्षेत्रमा यातायात सञ्चालन हुन थालेको हो। 

यातायात चल्न थालेपछि हिँडेर अन्यत्र जानुपर्ने तथा बोकेरै दैनिक उपभोग्यलगायतका सामाग्री ओसार्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय बताउँछन्। दैनिक उपभोग्य सामाग्री बजारबाट ल्याउन तथा गाउँमा उत्पादन भएको कृषिउपज बजारसम्म पु¥याउन धेरै सहज भएको धनकुटाको चौबिसे गाउँपालिका–४, कुरुलेका गोविन्द भण्डारी बताउनुहुन्छ। त्यस्तै बिरामी तथा साह्रोगाह्रो पर्दा एम्बुलेन्स गाउँमै आउन थालेपछि निकै सहज भएको उहाँको भनाइ छ। 

त्यसो त एकताका तमोर नदी किनारको बाटो हुँदै पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा तराईसँग ओहोरदोहोर गर्दथे। धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारका बासिन्दा यो गोरेटो प्रयोग गर्दथे। यात्रा गर्दा एकै दिनमा गन्तव्यमा नपुगिने भएकाले विभिन्न स्थानमा बास बस्थे। तमोर किनारको क्षेत्र निकै चहलपहल थियो तर मेची राजमार्ग तथा कोसी राजमार्ग बनेसँगै यो क्षेत्र सुनसान मात्र बनेन, अन्य क्षेत्रको तुलनामा दुर्गमसमेत बन्यो। फलस्वरूप सुविधाको खोजीमा यस क्षेत्रबाट हजाराँै परिवार तराई तथा सुविधायुक्त क्षेत्र बसाइ सरे तर पछिल्लो समय यो क्षेत्रले पुनर्जीवन पाएको छ। तमोर कोरिडोर निर्माण भएसँगै पुनः यो क्षेत्र सुगम बन्दै गएको छ । बाउबाजेदेखि आफ्ना नाति नातिनासम्मले खाद्यलगायतका विभिन्न सामग्री घण्टौँ लगाएर बोकेरै जीविका चलाएको धनकुटा बोधेका सहरमान लिम्बू बताउनुहुन्छ। “पुस्तौँपुस्ताले निकै सास्ती पायौँ तर अहिले आएर धेरै नै सहज भएको छ,” लिम्बू भन्नुहुन्छ। 

धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ २०६५ सालमा संविधान सभा सदस्य हेमराज भण्डारीले सांसद विकास कोषको रकमबाट तमोर कोरिडोरको काम सुरु गर्नुभएको थियो। त्यसपछि तमोर कोरिडोर राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको छ। धनकुटाको मूलघाटदेखि तमोर नदीको किनारैकिनार करिब १८० किमिको दूरीमा चीनतर्फको सीमावर्ती नाका ओलाङचुङ्गोला पर्छ। यो भारत र चीन जोड्ने सबैभन्दा मुख्य मार्ग हुने संविधान सभा सदस्य हेमराज भण्डारीको भनाइ छ। “एकतर्फबाट किमाथाङ्का खादबारी हुँदै भारत र चीन जोड्ने सडक आउँछ, अर्कोतर्फबाट ओलाङचुङ्गोला हुँदै सडक आउँछ। यसले पूर्वको भविष्य नै परिवर्तन गराउँछ,” उहाँले भन्नुभयो।

यो सडकको अर्को विशेषता भनेको धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका जिल्ला सदरमुकामबाट यो सडक सम्म दूरीमा समेत पर्छ। प्रत्येक जिल्लाका जिल्ला सदरमुकामबाट १८ देखि २० किलोमिटरमा यो सडक पुग्न सकिन्छ। तमोर कोरिडोरको बाटो अहिले ड्रेनसहितको ग्राभेलसम्म बनेको छ। सो सडकलाई कालोपत्रे गर्न टेन्डरको सूचना प्रकाशन भइसकेको छ। पहिलो चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको सुभाङ्घ खोलासम्म करिब ११० किलोमिटर कालोपत्रे हुने तमोर कोरिडोर आयोजनाले जनाएको छ। 

कालोपत्रेको काम मङ्सिरबाट सुरु हुने जनाइएको छ। सडक निर्माण सम्पन्न भएपछि भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हुने तमोर कोरिडोरका आयोजना प्रमुख कुवेर नेपालीले बताउनुभयो। 

“अहिलेसम्म भारत र चीन जोड्ने गरी निर्माण भएका कुनै पनि उत्तर–दक्षिण आयोजना तीन सय किलोमिटरभन्दा छोटा छैनन् तर तमोर कोरिडोर मात्र एक यस्तो आयोजना हो जो तीन सय किलोमिटरभन्दा कम दूरीमै चीन र भारतलाई जोड्छ,” उहाँले भन्नुभयो। आयोजना प्रमुख नेपालीका अनुसार पाँचथरदेखि इलाम हुँदै तराई पुग्न छ घण्टा तथा ताप्लेजुङबाट आठ घण्टा लाग्ने गरेकामा सडकको ट्याक खुलेसँगै अहिले भने पाँचथरबाट तीन र ताप्लेजुङबाट चार घण्टामा तराई पुग्न सकिन्छ। धनकुटाको मूलघाटदेखि तमोर नदीको किनारैकिनार करिब १८० किलोमिटर तथा तथा भारतसँग जोडिएको विराटनगरको रानी भन्सारबाट चीनसँग जोडिएको ओलाङचुङ्गोला २७० किलोमिटरको दूरीमा पर्छ।