• ११ असोज २०८१, शुक्रबार

बजारका अस्तव्यस्त तार व्यवस्थापन गरिँदै

blog

विष्णुप्रसाद पोखरेल

दमक, असोज ८ गते । झापा दमकको मुख्य चोक तथा बजार क्षेत्रमा अस्तव्यस्त राखिएका विभिन्न इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारसहित बिजुलीको तार व्यवस्थापनको काम सुरु भएको छ ।

अव्यवस्थित रूपमा बिजुलीको पोल नै नदेखिने गरी विभिन्न प्रकारका तार राखिदा बारम्बार रूपमा बिजुलीको पोलमा आगलागी हुने र विद्युत् अवरोध हुने गरेपछि दमकको वडा  ८ को कार्यालयले आफ्नो वार्डभित्रका बिजुलीको पोलको अव्यस्थित तार हटाउन सम्बन्धितलाई निर्देशन दिएको थियो ।

वडा ९ का वडाध्यक्ष दीपेश दहालका अनुसार नगरपालिकामा समेत यस विषयमा छलफल भएपछि नगरका प्रमुख बजारक्षेत्र र चोक आसपासमा समेत ठूलो समस्या रहेकाले एकैसाथ व्यवस्थापन गर्ने नगरपालिकाले सोचेर सार्वजनिक सूचना निकालेर व्यवस्थित गर्न थालेको हो ।

दमक नगर प्रमुख राम थापाका अनुसार एकातिर मात्र बिजुलीको पोल रहेकाले अब मुख्य र बजार क्षेत्रमा प्रवेश गर्ने सडकको दुबैतर्फ बिजुलीको पोल लगाएर तारको व्यवस्थापन गर्न सुरु गरिएको हो । दुवैतर्फ बिजुलीको पोल हुँदा जहाँ पायो त्यहीबाट तार क्रस गराउने कार्य पनि बन्द हुने उहाँले बताउनुभयो ।

दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरण दमकले नगरपालिका बजारभित्रका सडकमा नगर सौन्दर्यकरण गरी व्यवस्थित विद्युत् आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत् पोलसहितको तार जडान गर्ने काम भइरहेको थापाको भनाइ छ । विद्युत् पोलमा जडान गरिएका विभिन्न इन्टरनेटका तार र नेपाल टेलिकमका तार व्यवस्थित गर्न निर्देशन दिएका छौँ उहाँले भन्नुभयो ।