• ११ असोज २०८१, शुक्रबार

महोत्सव र चाडपर्वलाई शान्त बनाउन प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ। फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङस्थित जिल्ला सुरक्षा समितिले चाडपर्व र मेला महोत्सवलाई शान्त वातावरणमा मनाउन साथै सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरेको छ। नजिकिएको दशैं तिहारजस्ता चाडपर्व र यही असोज ११ देखि १३ गतेसम्म ताप्लेजुङमा हुन लागेको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई शान्त बनाउन सुरक्षा समितिले आग्रह गरेको हो।

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महोत्सव र चाडपर्वको समयमा शान्ति सुरक्षामा खलल् पुग्ने किसिमका कुनै पनि अवरोध तथा व्यवधानका कार्य नगर्न सबैलाई आग्रह गर्नुभएको छ। प्रजिअ पोखरेलले विज्ञप्तिमार्फत पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वमा भयरहित वातावरणमा भाग लिन आह्वान पनि गर्नुभएको छ। 

नजिकिँदै गएको नेपालीको चाडपर्व हर्षोल्लाससाथ मनाउने वातावरण बनाउन र पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई लक्षित गरी जिल्ला सुरक्षा समितिले सुरक्षा योजना तयार पारी भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सुरक्षा समितिले महोत्सव तथा चाडपर्वहरूमा कुनै पनि किसिमको अवरोध भए स्थानीय प्रशासन ऐन २०२८ एवम् संक्षिप्त कार्यविधि ऐन २०२८ बमोजिम कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ। 

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई अवरोध पु¥याउनेगरी केही व्यक्ति तथा समूहले जिल्लाभित्र यातायात बन्दजस्ता असहयोग गर्ने कार्य सार्वजनिक भएकोप्रति स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ। 

समग्र जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने साथै विगतदेखि नै धार्मिक, सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्देश्यसहित आयोजना गरिँदै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिइएकोभन्दै महोत्सवमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागिता जनाउन जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ। 

दशैं तिहारजस्ता चाडपर्वको समयमा प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने मुख्य सिजन भएकाले देश विदेशबाट अत्यधिक रूपमा भक्तजनको आगमन हुने अवस्थालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था र योजना मजबुत बनाइएको पनि जिल्ला सुरक्षा समितिले जनाएको छ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र जिल्लास्थित नेपाली सेनाको भीमकाली गुल्मको संयुक्त आयोजनामा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको हो। 

यता पाथीभरालाई मुक्कुमलुङ नामकरण गर्नुपर्ने मागसहित पछिल्लो समय आफ्नो गतिविधि गर्दै आएको मुक्कुमलुङ सङ्घर्ष समितिले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको विरोध गर्दै आएको छ। यातायातलगायत सबैखाले व्यवसायीले आम्दानी गर्ने मौसममा सङ्घर्ष समितिले गर्न खोजेको गतिविधिप्रति भने तीव्र आलोचना हुँदै आएको छ।