• १२ साउन २०८१, शनिबार

नेपाल र युरोपियन युनियन सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ : महानिर्देशक गुनार

blog

तस्बिर : ब्रसेल्सबाट केजिन राईको सहयोगमा

काठमाडौं, असोज ७ गते । युरोपियन युनियनका एसिया तथा प्यासिफिक महानिर्देशक गुनार विएगान्दले नेपाल–युरोपियन युनियनको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले असोज ४ गते (सेप्टेम्बर २०) मा ब्रसेल्सलमा आयोजना गरिएको समारोहमा बोल्नुहुँदै उहाँले नेपाल राष्ट्रिय दिवस (संविधान दिवस) र नेपाली जनतालाई बधाई दिनुहुँदै  विकासोन्मुख देश तर्फको नेपालको यात्रामा युरोपियन युनियनले सहयात्रा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले विकास साझेदारको रूपमा युरोपियन युनियनले नेपालमा लामो समयबाट सहकार्य गरिरहेकोमा नेपालले गरेको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।

यसैगरी, जनस्तरमा भएको युरोप र नेपालको सम्बन्ध गर्व गर्न लायक रहेको र यसले अन्तर्राष्ट्रिय शान्ति कायम गर्न सहयोग पुगेको उहाँको भनाइ छ । त्यस्तै, इरासमोस छात्रवृत्तिमा पढेका करिब आठ सय विद्यार्थीहरूले नेपाल युरोपको सम्बन्धलाई थप मजबुत बनाएको धारणा महानिर्देशक विएगान्दले व्यक्त गर्नुभयो ।

बेल्जियममा नेपाली राजदूतावास बेनेलक्सले संविधान दिवसको अवसरमा युरोपियन युनियनका पदाधिकारीहरू, नेपालमा काम गरिरहेका युरोपियन गैरसरकारी संस्था र नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थितिमा मनाएको छ ।

युरोपमा रहेका नेपाली व्यवसायी विद्यार्थी र अन्य व्यक्तिहरूले युरोपको सामाजिक जीवनमा सकारात्मक प्रभाव पारेकोमा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।

नेपाल र युरोपेली सङ्घको दौत्य र सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भइसकेको जानकारी दिँदै इयुले राजनैतिक सम्बन्ध, व्यापार, व्यक्ति–व्यक्तिको सम्बन्ध विकास, जलवायु परिवर्तन, ‘रिजनल कनेक्टिभिटी’ जस्ता क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो । नेपालको नयाँ संविधानले नेपाली जनताको उन्नति र नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास युरोपियन युनियनको रहेको उहाँको भनाइ छ ।

बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले आधुनिक नेपाल निर्माणको परिकल्पना गरेर जनसहभागिता र जनआन्दोलनबाट बनेको नयाँ संविधान अनुसार नेपालले सम्वृद्धिको नयाँ यात्रा तय गरेको बताउनुभयो । यही लोकतान्त्रिक यात्रा तय गरेको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको जानकारी उहाँले दिनुभयो ।


कोरोना महामारीले आक्रान्त भएको विश्व चलायमान भएको आजको अवस्थामा नेपाल युरोपियन नागरिकहरूलाई स्वागत गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

नेपाल र युरोपको साझेदारी विश्व मञ्चमा सधैँ शान्ति र स्थिरताका लागि भएको बताउनुहुँदै उहाँले आगामी दिनमा यसलाई अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा युरो नेपाल कलाकार सङ्घका कलाकारहरूले नेपाली सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए । भारत, पाकिस्तान, बङ्गलादेशलगायत युरोपियन देशहरूका राजदूत, युरोपियन युनियन र बेल्जियम सरकारका विशिष्ट व्यक्तित्व, एनआरएनए बेल्जियम, नेदरल्याण्ड र लग्जेम्बर्गका अध्यक्षलगायतका पदाधिकारीका साथै सामाजिक सङ्घ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका उपनियोग प्रमुख सुरेश अधिकारीले गर्नु भएको थियो । ब्रसेल्सबाट केजिन राईको सहयोगमा