• १६ भदौ २०८१, आइतबार

दशैँमा कलाकारको पहिरन र आभूषण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । बजारमा दशैँको माहोल र किनमेलको चटारोले सडक भरिभराउ हुन थालिसकेको छ। दशैँको माहोलले कलाकारलाई नछुने कुरै भएन। उनीहरूलाई पनि किनमेलको भ्याइनभ्याइ छ। कलाकारहरू कुन लुगा लगाउने र कसरी दशैँ मनाउने भन्ने चटारोमा देखिन्छन्। 

बुटिकमा लुगा बनाउनेदेखि विभिन्न सपिङ मलतिर किनमेलमा व्यस्त छन् कलाकर। “लुगा त जहिल्यै किनिन्छ तर दशैँ भन्नेबित्तिकै नयाँ लुगा सम्झिइन्छ,” नायिका ऋचा शर्मा भन्नुहुन्छ, “यस पर्वका लागि विशेष लुगा लगाउने विचारमा छु। बुटिकमा लुगा बनाउन दिएको छु। साधारणतया हामी कलाकारलाई सधैँ नयाँ लुगा आवश्यक पर्छ। कहिले कता कार्यक्रम त कहिले कता तर पनि दशैँ भन्नेबित्तिकै एउटा नौलो अनुभव हुन्छ।” 

हास्य कलाकार रवि डङ्गोल (बेमान)ले भन्नुभयो, “मलाई दशैँ मन पर्नुको कारण टीका हो। रातो टीका–जमारा लगाउँदा; मामाघर, आफन्तकहाँ जाँदा रमाइलो हुन्छ।” अब त दशैँ आफ्ना लागि भन्दा पनि छोरीका लागि विशेष रहेको उहाँ बताउनुहुन्छ। दशैँका लागि भनेर लुगा किन्नुको मज्जा नै बेग्लै रहने उहाँको भनाइ छ। सानोमा नयाँ लुगा लगाउन दशैँ नै कुर्नुपर्ने बताउँदै उहाँ थप्नुहुन्छ, “दशैँ आएपछि नयाँ लुगा आउँछ भनेर निकै उत्सुकता हुन्थ्यो। सानोको सभ्झनाले नै होला, यस पटक ढाकाको कोट र दौरा सुरुवाल लगाउने सोचाइमा छु।” 

नेपाली समाजमा चाडपर्व भित्रिसकेको छ। गहना र पहिरनका लागि बजार तयारी अवस्थामा रहेको छ भने ग्राहकहरूको पनि घुइँचो बढ्दै छ। दशैँमा पहिरनसँगै गहनाले पनि महत्व राख्छ। पछिल्लो समय गहनाको क्षेत्रमा क्लासिक कलेक्सनको माग बढ्दो छ। “पहिरन र आभूषणको उपयुक्त संयोजन भएको खण्डमा नारीलाई थप सुन्दर हुन सहयोग मिल्छ,” नायिका आँचल शर्मा भन्नुहुन्छ। 

मोडलिङ र अभिनयमै करिअर बनाउनुभएकी सुनिता श्रेष्ठलाई जाडो महिना मन पर्छ। “दशैँको मौकामै जाडो महिनाका लागि लुगा खरिद गरिसकेकी छु,” उहाँ भन्नुहुन्छ, “अङ्ग प्रदर्शनी गर्ने मात्र फेसन होइन। म फेसनमा अपडेट छु तर छोटा–छोटा पहिरनले मात्र फेसनेबल भइन्छ भन्ने म मान्दिनँ।” 

जाडो महिनामा छाला, अनुहार सुरक्षित हुनुका साथै नयाँ–नयाँ लुगाको मजा पनि लिन सकिन्छ। बुटको साथमा लङ कोट लगाउँदा आफूलाई खुब स्मार्ट लाग्ने एलिना बताउनुहुन्छ। यो जाडोमा पनि बुट, लङ कोट र हाफ कोट किन्ने विचारमा हुनुहुन्छ उहाँ।