• १३ साउन २०८१, आइतबार

एक सातादेखि पढाइ प्रभावित

blog

धनगढी समाचारदाता

धनगढी, असोज ७ गते । कैलालीको भजनी नगरपालिकाका विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ। गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षतिसमेत गरेपछि एक सातादेखि पठनपाठन हुन नसकेको हो।

 केही विद्यालयमा बाढी प्रभावित बसेका कारण पढाइ हुन सकेको छैन। डुबान र बाढी प्रभावित बसेका कारण भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो। “विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ।” 

बाढीले भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालय डुबानमा परेका थिए। सो पालिकामा संस्थागत ३९ र निजी १५ गरेर ५४ वटा विद्यालय रहेका छन्। बाढीले गणेशमान माध्यमिक विद्यालय, कर्मेश्वर आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, कृष्णध्वज माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय लगायतमा क्षति गरेको छ। विद्यालयमा रहेका विद्यार्थी–शिक्षक पुस्तिका, शैक्षिक कागजात, शैक्षिक सामग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर लगायतमा क्षति भएको नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। 

विद्यालयमा बाढीले गरेको क्षतिको विवरण अझै पूर्णरूपमा नआएको र सबै विद्यालयका प्रअलाई क्षतिको पूर्ण विवरण लिएर नगरपालिका आउन बोलाएको अधिकृत शाहले बताउनुभयो। ‘दुई, तीन दिनभित्र क्षतिको सबै विवरण आउँछ,” उहाँले भन्नुभयो। 

धेरैजसो विद्यालयमा बाढीले फोहोर र माटो थुपारेको छ। पठनपाठन पुनः सञ्चालनका लागि विद्यालयका कक्षाकोठालगायत सरसफाइ गर्ने कार्य भइरहेको जनाइएको छ। सरसफाइ गरेर केही विद्यालयमा पठनपाठन सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो। शनिबार आएको बाढीका कारण भजनी सबैभन्दा बढी प्रभावित भएको छ भने दुई जनाको ज्यान गएको छ।