• १३ साउन २०८१, आइतबार

बसपार्क निर्माणको काम अलपत्र

blog

अमरगढी समाचारदाता

डडेल्धुरा, असोज ७ गते । सुदूरपश्चिमकै व्यवस्थित बसपार्क निर्माण गर्ने योजना बनाएर ३८ रोपनी जमिनमा करिब ६० लाख रुपियाँ खर्च गरेर 

निर्माण सुरु गरिएको बसपार्कको काम अलपत्र परेको छ। महाकाली राजमार्ग छेउ अमरगढी नगरपालिका–८, डकलेमा पाँच वर्षअघि व्यवस्थित बसपार्क निर्माणको योजना बनाई काम सुरु गरिएको थियो। जिल्ला सदरमुकामदेखि पाँच किलोमिटरको दूरीमा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग छेउमै बसपार्क निर्माणको काम थालिए पनि अहिले अलपत्र परेको छ। 

बजेट अभावका कारण डकलेमा निर्माण थालिएको बसपार्क जिल्ला सदरमुकाम बागबजारमा रहेको बसपार्कको विकल्पका रूपमा नयाँ र व्यवस्थित बनाउन थालिएको थियो। डकले बसपार्कको निर्माण नहुँदा बजारमा सवारीसाधन पार्किङ गर्न निकै समस्या हुने गरेको छ।

पाँच वर्षअघि आर्थिक वर्ष २०७३/०७४ मा डकलेमा बसपार्क निर्माणका लागि पर्खाल लगाइएको छ भने थोरै जमिन सम्याउने काम गरिएको छ। 

तत्कालीन अवस्थामा सहरी विकास तथा भवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपियाँ खर्च गरिएको निर्माणको ठेक्का पाएको भट्टराई निर्माण सेवाका सञ्चालक केशव भट्टले जानकारी दिनुभयो। क्रमागत रूपमा बजेट आउने गरी सुरुवातमा सामुदायिक वनले दिएको जमिन सम्याउने, पर्खाल लगाउने गरी ठेक्का सम्झौता भएको र उपलब्ध रकमअनुसार काम भएको उहाँले बताउनुभयो। 

जिल्ला सदरमुकाम बागबजारमा रहेको बसपार्कमा सवारीसाधन पार्किङ गर्न समस्या भइरहेको यातायात व्यवसायी बताउँछन्। साँघुरो बजार क्षेत्रमै सानो बसपार्क बनाइएकाले गाडी पार्किङ गर्न निकै सास्ती हुनुका साथै दुर्घटनाको जोखिम पनि रहेको ठूला सवारी चालक करन भण्डारीले बताउनुभयो।  

बसपार्क निर्माणका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन हुन नसक्दा डकले बसपार्कको निर्माण कार्यअगाडि बढ्न नसकेको अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले बताउनुभयो।  

तर गत आर्थिक वर्ष २०७७/७८ मा सहरी विकास कार्यालयको ५० लाख रुपियाँ फिर्ता गएको पूर्वनगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो। गत वर्ष अमरगढीमा लामो समय प्रमुख प्रशासकीय अधिकृत नभएकाले समयमै सम्झौता नहुँदा रकम फिर्ता गएको उहाँले बताउनुभयो।