• १३ साउन २०८१, आइतबार

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै

blog

कल्याणपुर समाचारदाता 

कल्याणपुर, असोज ७ गते । सप्तरीको खडक नगरपालिका–८ मा डेङ्गु सङ्क्रमित एक जना ६५ वर्षीय वृद्धको उपचारको क्रममा एकसाता अगाडि मृत्यु भएपछि डेङ्गुको त्रास बढेको छ। यसै क्रममा जिल्लाको कञ्चनरूप नगरपालिकामा दस जनामा परीक्षण गर्दा ६ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। 

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा एकसाता पहिलेदेखिको स्वास्थ्य परीक्षणको रिपोर्टअनुसार सो स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्न आएका १० जनामध्ये ६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य केन्द्रले जनाएको छ। भदौ २४ गते कञ्चनरूप ११ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का २४ वर्षीय पुरुष र वडा नम्बर ८ का १७ वर्षीय बालकमा डेङ्गु भेटिएको थियो भने २६ गतेको परीक्षणमा दुई जनामा डेङ्गु भेटिएको थियो। भदौ ३० गते पनि अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय पुरुषमा डेङ्गु भेटिएको थियो भने वडा नम्बर ८ का २६ वर्षीय पुरुष र वडा नम्बर ११ का ६५ वर्षीय पुरुषमा समेत डेङ्गुको सङ्क्रमण देखाएको स्वास्थ्य केन्द्र कञ्चनरूपले जनाएको छ।

 सङ्क्रमितहरूको प्लेटलेट परीक्षण भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखाका डम्बर साहले जानकारी दिनुभएको छ। यो रोग लामखुट्टेको टोकाइबाट हुनेभएकाले सकेसम्म लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य शाखाले सुझाव दिएको छ।