• ८ कात्तिक २०८१, बिहिबार

राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्नु हुन्न : महासचिव पोखरेल

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ६ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो आरोप लगाउनुभएको हो । राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्न नहुने उहाँको सुझाव छ । 

पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको उहाँको टिप्पणी छ । नागरिकता विधेयकलाई षडयन्त्रपूर्वक एमाले विरुद्धमा प्रयोग गर्ने प्रयास गठबन्धनले गरिरहेको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले नागरिकता विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने राष्ट्रपतिको आशयलाई गठबन्धनले उपेक्षा गरेको उहाँको भनाइ छ । नागरिकता विधेयकमा वैवाहिक अङ्गीकृतको विषय प्रमुख रहेको महासचिव पोखरलले भन्नुभयो, “आफ्ना चेलीहरूको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न म गठबन्धन दललाई आग्रह गर्छु ।” 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरूले अवरोध गरेको उहाँले चर्चा गर्नुभयो । महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको बताउनुभयो । 

“जन्मसिद्ध सन्तानको हक स्थापित गर्नखोज्दा त्यतिबेला अहिलेका गठबन्धन दलले  अदालतबाट रोकेका हुन्, अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था भइसक्थ्यो” उहाँले भन्नुभयो ।  

“गणतन्त्रको प्रतीक भनेको राष्ट्रपति हो । राष्ट्रपतिका सन्देशहरूलाई उपेक्षा गर्ने पाँच दलीय गठबन्धनले राष्ट्रको हितको नेतृत्व गर्न सक्दैन” उहाँले थप्नुभयो, “अहिलेको बहसको विषय भनेको वैवाहिक अङ्गीकृतको विषय हो । अङ्गीकृत नागरिकताको विषयमा नेपाली चेलीहरू भारतमा गएर जति वर्ष नागरिकता पाउन समय कुर्नुपर्छ नेपालमा आउनेहरूले पनि केही समय कुर्नुपर्छ ।”

विवाह भएलगत्तै विदेशी बुहारीलाई नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहीँ नभएको उहाँले चर्चा गर्नुभयो । महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो सांसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेकाले समस्या आएको बताउनुभयो । राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि संसदमा छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको महासचिव पोखरेलले दाबी गर्नुभयो ।