• १३ साउन २०८१, आइतबार

चारकोलद्वारा चित्र कोर्ने कलाकार बाबुराजा

blog

काठमाडौँ, असोज ५ गते । नेपाली कला क्षेत्रमा चारकोलले चित्र कोरेर पहिचान बनाउनुभएका बाबुराजा द्यःला कलाकारबीच एकता एवं सद्भाव हुनुपर्नेमा जोड दिनुहुन्छ। चित्रकला सिक्न उचित वातावरण नपाए पनि आफ्नै रहर र मेहनतका भरमा यस क्षेत्रमा आउनुभएका कलाकार बाबुराजाले चित्र कोर्ने प्रयास गरेदेखि नै हालसम्म चारकोलको सहायताले मात्र चित्र बनाउँदै आउनुभएको छ। ललितपुर, लगनखेलको ततिटोलस्थित आफ्नै घरलाई हाल उहाँले कलामय बनाउनुभएको छ। त्यहाँ सञ्चालनमा छ, ‘बारा आर्ट ग्यालरी’ ।  

लगनखेलको महालक्ष्मी र वटुकभैरव मन्दिरको भित्तामा कोरिएका आकृतिहरू देखेर उहाँको मनमा चित्रकलाबारे जिज्ञासा जाग्यो। त्यसपछि वटुकभैरव मन्दिरमा बालिएको आगो निभेपछि त्यहाँबाट टिपेको चारकोलले कापीमा कोर्न थाल्नुभयो। व्यवस्थापन विषय अध्ययन गरेर कला क्षेत्रमा संलग्न उहाँले २०३२ सालमा भारतबाट चित्रकलाबारे पढेर आउनुभएका रमानन्द जोशीलाई गुरुका रूपमा पाउनुभयो। त्यति बेला गुरु रमानन्दको रत्नपार्कमा जेके आर्ट थियो। उहाँसँग चित्र बनाउन सिकेको मासिक ३५ रुपियाँ र लगनखेलदेखि साझा बसमा आवतजावत गरेको २० पैसा भाडा लाग्थ्यो। आयस्रोतको कमीले मासिक फी र बसभाडा जुटाउन समस्या भएपछि करिब तीन महिना मात्र सिकेर उहाँले कलाको तालिमलाई बिट मार्नुभयो। 

स्वअध्ययन र प्रयासबाटै कला सिर्जनाको अभ्यास गर्ने कलाकार बाबुराजालाई स्थानीय ज्येष्ठ नागरिकलगायत इच्छुक व्यक्तिहरूले आफ्नो मुहारचित्र बनाइदिन आग्रह गर्न थाले। त्यति बेला फोटो खिच्ने प्रचलन थिएन। उहाँले व्यक्तिको अनुहार दुरुस्त बनाएको देखेर मानिसहरू खुसी हुन्थे र त्यसबापत केही रकम पनि दिन्थे। रमानन्द गुरुले पनि कुनै कार्यक्रमका लागि तुल, ब्यानर बनाउनु पर्दा उहाँलाई सम्झन थाल्नुभयो। यसरी चित्रकलाबाट आम्दानी हुन थालेपछि उहाँ हौसिनुभयो। करिब ५० वर्षदेखि उहाँले चारकोलको माध्यमबाट चित्र बनाउँदै आउनुभएको छ। 

हाल कला सिर्जनाका विविध आयाम सिक्न आउने विद्यार्थीसँग उहाँ आफूले जानेको सीपसँगै अनुभव पनि साटासाट गर्नुहुन्छ। कला क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका कलाकार बाबुराजाले कलाकारबीचको सौहार्दपूर्ण सम्बन्ध बढाउनुपर्ने सन्देशसहित नेपालको कला–साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्वका मुहारचित्र बनाइरहनुभएको छ। उहाँले बालकृष्ण सम, नरेन्द्रबहादुर श्रेष्ठ, कलाकार गेहेन्द्रमान अमात्य, लैनसिंह बाङ्देल, वत्सगोपाल वैद्य, अमर चित्रकार, मूर्तिकार ठाकुरप्रसाद मैनाली, नेपाल ललितकला प्रतिष्ठानका कुलपति केके कर्माचार्य, चन्दा श्रेष्ठ, रागिनी उपाध्याय, प्रख्यात चित्रकार शशि शाहलगायतका सर्जकको चित्र कोरेर सङ्कलन गर्नुभएको छ। 

कलाकार बाबुराजा भन्नुहुन्छ, “नेपाली कलाकारबीच एकतामा कमी छ। हरेकको सिर्जनाकर्म फरक धारको हुन सक्छ तर एकले अर्कोको सम्मान गर्ने वातावरण तयार गर्न म आफ्नोतर्फबाट मुहारचित्रमार्फत प्रयास गर्छु।” कोइलाका साथै पेन्सिलले चित्र बनाउनुहुने कलाकार बाबुराजा अङ्गुरको हाँगाबिँगाबाट चित्र बनाउने कोइला आफैँ तयार गर्नुहुन्छ।