• २६ फागुन २०८२, मङ्गलबार

मानन्धर समुदायको स्वयम्भू भोज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २६ गते । केन्द्रीय मानन्धर सङ्घले देशभरका मानन्धर समुदायलाई समेटेर हरेक वर्ष स्वयम्भू भ्वय् (भोज) गर्ने गर्दछ । स्वयम्भू भोज पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर गर्दै आएको परम्परा हो । हजारौँको सङ्ख्यामा सहभागी हुने मानन्धरलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौँस्थित तँलाछि टोलले लिएको थियो । चस्वांद्वँ मानन्धर सनाःगु खलःले अर्को वर्ष भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

परम्परागत महत्वको स्वयम्भू भोज कार्यक्रमका लागि विभिन्न टोलले आआफ्नै जिम्मेवारी वहन गरेको हुन्छ । भोजका लागि आवश्यक हुने चिउरा, दही, छ्याङ तथा अन्य नेवार परिकार खुवाउने जिम्मेवारी फरक फरक टोलले लिएको हुन्छ । स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको खुसियालीमा मनाइँदै आएको परम्परागत भ्वय् कार्यक्रमलाई पछिल्लो समय समयानुकूल परिवर्तन गरी औपचारिक, सांस्कृतिक र आर्थिक क्षेत्र प्रवर्धनसँग जोडिएको छ ।

“स्वयम्भू भ्वय् कार्यक्रम आयोजना गर्नु सहज छैन । हामीले भुइख्यःमा भोज व्यवस्थापनका लागि मात्र थुप्रै स्वयंसेवी परिचालन गरेका छौँ । हामीले आजको विशेष दिनमा भोज मात्र खुवाउने हैन बरु समुदायलाई आर्थिक पाटोसँग जोड्नका लागि विभिन्न व्यावसायिक र वित्तीय संस्थाको प्रदर्शनी स्थल पनि राख्छौँ । सांस्कृतिक कार्यक्रम पनि हुन्छ,” सङ्घका कोषाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । 

सङ्घको ७३ औँ स्थापना दिवसको सन्दर्भमा शनिबार विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनीता डङ्गोलले सम्मान गर्नुभयो । नेपाल आँखा अस्पताललाई यो वर्ष ५० हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो । यसै गरी चस्वांद्वँ टोलका त्रिरत्न मानन्धरलाई ५० हजार रुपियाँसहित मोहनलाल खिं मानन्धर पुरस्कार दिइयो । सोही विधातर्फ मोहनलाल खिं मानन्धर युवा पुरस्कार भक्तपुर साःक्वालान टोलका विष्णुबहादुर मानन्धरले पाउनुभयो । उहाँ २५ हजार रुपियाँसहित सम्मानित हुनुभयो । 

आख्यानकार मथुरा सायमि पुरस्कार यो वर्ष कामना मानन्धरलाई प्रदान गरियो । चिकित्सा क्षेत्रमा एमडी उत्तीर्ण गरेर विभिन्न अस्पतालमा सेवा दिइरहनुभएका शङ्खरापुर नगरपालिकास्थित सक्व मानन्धर गुठीका डा. सनिश मानन्धरलाई श्याम लक्ष्मी पुरस्कार तथा स्नातकोत्तर तह नेपाल भाषा विधामा उत्कृष्ट हुनुभएकी सकुन्तला महर्जनलाई सत्यतारा सम्मान प्रदान गरियो । नेपाल भाषा विषय लिएर विद्यालय तहमा उत्कृष्ट हुने अजः मानन्धरले १० हजार रुपियाँसहित सलिंचा मचा नेवाः पुरस्कार जित्नुभयो ।

यसै गरी सङ्घको ७३ औँ स्थापना दिवसका अवसरमा विभिन्न खेलकुद प्रतियोगिता फुटसल, पाँच किलोमिटर खुला दौड, टेबलटेनिसमा विजेतालाई पनि पुरस्कृत गरिएको थियो । यसै गरी समुदायभित्र विवाह गरेका नवदम्पती र भीमरथारोहन गरेका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरियो ।

एकदिने भोजमा रक्तदान कार्यक्रम र हस्तकला सामग्रीका प्रदर्शनी पनि राखिएको थियो । कुल ३० जनाले रक्तदान गर्नुभएको बताइएको छ ।